बिहीबार, २१ मंसिर २०८० १०:४०

चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा ध्यान दिन निर्देशन

बुधबार, १३ आश्विन २०७८ ०७:२७

असोज १३, हेल्लो नेपाल ।

प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीमा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकले चाडपर्वको बेलामा दैनिक उपभोग्य सामग्रीको पर्याप्तता, सुपथ मूल्य पसल र बजार अनुगमनमा ध्यान केन्द्रित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बजारमा काठमाडौँमा चिनी र दुर्गमका जिल्लामा खाद्यान्न अभाव भएको जानकारी आएको भन्दै तत्काल आपूर्तिको व्यवस्था गर्न निर्देशन दिनुभयो ।

उहाँले विभिन्न पत्रपत्रिकामा दुर्गमका जिल्लामा कुहिएको चामल पठाइएको र केही जिल्लामा दसैंका लागि खाद्यान्न अभाव भएको सुनिएको भन्दै जानकारी माग गर्नुभएको थियो ।

बैठकमा सांसदहरुले चाडपर्वको समयमा बजारमा हुने कालोबजारीमा ध्यान केन्द्रित गर्न सुझाव दिएका थिए । सांसद देवेन्द्र पौडेलले राज्यले दिएको छुट उपभोक्ताले अनुभूति गर्न नसकेको भन्दै सुपथ मूल्यका पसलमा पर्याप्त खाद्यान्नको बिक्री वितरणमा जोड दिनुभएको थियो । उहाले किसानले उत्पादन गरेको बस्तु सहज रुपमा उपभोक्तमाझ पुग्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । त्यस्तै सांसद सुजाता परियारले बजारमा उपभोग गर्ने वस्तुहरुको भाउ बढेको भन्दै बजार भाउ नियन्त्रणमा जोड दिनुपर्ने बताउनुभयो ।

समितिमा भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले चाडवाडमा खाद्य सामाग्री अभाव नहुने बताउनुभएको थियो । उहाँले सरकारी कम्पनी तथा निजी उद्योगी व्यवसायीसँगले दिएको तथ्याङ्कअनुसार चिनी, तेल तथा चामलको मौज्दात पर्याप्त रहेको बताउँदै बजारमा हल्ला भएअनुसार अभाव नभएको बताउनुभयो ।