शनिबार, १३ आश्विन २०८० ०२:०१

तारलाई व्यवस्थित गर्नका लागी पोल भाडा बढाइएको हो-कुलमान घिसिङ

मंगलवार, १२ आश्विन २०७८ १४:००

असोज–१२, हेल्लो नेपाल ।
नेपाल बिधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पोलमा रहेका तारलाई व्यवस्थित गर्नका लागी पोल भाडा बढाइएको बताउनुभएको छ । मंगलबार तराई बिकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौंमा आयोजना गरेको नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चूनौति बिषयक छलफलमा घिसिङले विद्युतका पोलले धान्नै नसक्ने गरी इन्टरनेटका तारहरु राखिएकाले त्यसलाई व्यवस्थित गर्न पोल प्रयोगको भाडा बढाइएको बताउनुभएको हो ।

उहाले इन्टरनेट सेवा प्रदायकमार्फत यस अघि प्राधिकरणले २५ करोड उठाउँदै आएकोमा अब बढेर ५० करोड र उक्त रकम प्राधिकरणका लागि ठूलो रकम नभएको बताउनुभयो । अहिले पोलमा रहेका ९५ प्रतिशत तारहरु काम नलाग्ने अवस्थामा रहेको र त्यसलाई निकाल्न इन्टरनेट सेवा प्रदायकले कुनै चासो नदेखाएको उहाले बताउनुभयो ।

कार्यक्रममा इन्टरनेट सेवा प्रदायकका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले ग्राहकका आधारमा नाफा कमाउन पोल प्रयोगको भाडा बढाएको आरोप लगाउनुभयो । उहाले यसअघि पोलको भाडा २०५ रुपैया लिइने गरेकोमा अहिले प्रति पोल र प्रतिकिलोमिटरका आधारमा ७५० रुपैया तिर्नुपर्ने अवस्था आएको गुनासो गर्नुभयो । प्राधिकरणले पोल भाडा बढाएसंगै शहरी क्षेत्रमा इन्टरनेट सेवाको मासिक १५० र ग्रामिण क्षेत्रमा ३०० रुपैया बढाउन आफुहरुले प्रस्ताव गरेको उहाको भनाई छ ।

यसअघि प्राधिकरणले विद्युत् पोल र ओपीजीडब्ल्यु केबलको भाडादर बढाउने निर्णय गरेको थियो । त्यस्तै कार्यक्रमका सहभागीहरुले नेपालमा सूचना प्रविधि प्रयोग बढ्दै जाँदा गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए ।