शुक्रबार, १६ चैत्र २०८० १६:५२

अध्यक्ष पदमा भीम रावलको उम्मेदवारी

सोमबार, ६ मंसिर २०७८ ०५:२४

मंसिर ६, हेल्लो नेपाल ।

नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गर्नुभएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूले पार्टीको यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गर्नुभएको हो । उहाले आफूले अध्यक्षमा उम्मेद्धवारी घोषणा भने पार्टी मुख्यालय थापाथलीबाट नै गर्न चाहेको र सोहीअनुसार पार्टी महासचिवलाई खबर गरेको भएपनि अहिले महाधिवेशनको तयारी चलिरहेकोले ठाउँ अभावका कारण आफू क्लबमा आउनु परेको पनि बताउनुभयो ।

आफूले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको पनि रावलको भनाई छ । महाधिवेशन नेतृत्व चयनको लागि भएको उल्लेख गर्दै उहाले आफूले नेतृत्वमा उम्मेद्धवारी दिन्छु भन्ने कुरालाई कसैले पनि अस्भाविक ठान्न नहुने स्पष्ट पार्नुभयो ।

रावलले उम्मेद्धवारी दिने कुरा प्रत्येक व्यक्तिको आफ्नो ईच्छाको कुरा भएको पनि उल्लेख गर्नुभयो ।