शुक्रबार, १६ चैत्र २०८० २१:२६

उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव निर्वाचित

शुक्रबार, ३ चैत्र २०७९ १३:०१

चैत–३,हेल्लो नेपाल ।
नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झालाई पराजित गरी निर्वाचित हुनुभएको हो । यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्नुभयो ।

यस्तै अष्टलक्ष्मी शाक्यले १६ हजार ३२८ मत प्राप्त गर्नुभयो भने ममता झाले २ हजार ५३७ मतभार प्राप्त गर्नुभयो । उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम रहेका थियो । मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य सहभागी भएका थिए ।

मतगणनापछि संसद भवनमा आयोजित कार्यक्रमकाबीच नवनिर्वाचित उपराष्ट्रपति यादवलाई निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

पूर्वमन्त्रीसमेत रहनुभएका यादवलाई जसपा नेपालसहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत सत्तागठबन्धन दलहरूको समर्थन रहेको थियो । नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ ।

यसैगरी दुई पटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ ।