शुक्रबार, १६ चैत्र २०८० १३:४०

तमु ल्होसारको पूर्वसन्ध्यामा रुपन्देहीमा मोटरसाइकल र कार र्‍याली

बुधबार, १४ पुष २०७८ १४:२६

पुष १४, हेल्लो नेपाल ।

गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसारको पूर्वसन्ध्यामा तमु युवा छोज धी जिल्ला कार्यसमिति रुपन्देहीले मोटरसाइकल र कार र्‍याली गरेको छ ।
बुधबार बुटवलको गोलपार्कबाट सुरु भएको र्‍याली, योगीकुटी, मणिग्राम, मंगलापुर, भलवारी, कोटिहवा, बुद्धचोक, एयरपोर्ट, गल्लामण्डी हुँदै भैरहवाको बर्मेली टोलस्थित सुकदेव गुरुङको शालिकमा माल्यार्पण गरी सम्पन्न भएको थियो ।

र्‍यालीमा सयौं गुरुङ समुदायका युवाहरु सहभागी थिए । बुधबार दिनभर परेको वर्षाले र्‍याली केही प्रभावित भए पनि स्वतस्फूर्तरुपमा सयौं युवा मोटरसाइकल र कार र्‍यालीमा आएको कार्यक्रम संयोजक अर्जुन गुरुङले जानकारी दिए ।

समितिका रुपन्देही अध्यक्ष सिद्धार्थ गुरुङले चिसोको प्रवाह नगरी युवाहरु उत्साहपूर्वक सहभागी भएको जनाए । ‘यस्तो कठ्यांग्रिँदो चिसोलाई छल्दै युवाहरु सहभागी हुनुभयो’, उनले भने, ‘यसले युवाहरुमा आफ्नो पर्व,रितीरिवाज, धर्म, कला–संस्कृतिको जगेर्नामा लगाव छ भन्ने पुष्टि गर्छ ।’

तमु ल्होसारले जातीय भेषभुषा र कलासंस्कृति, भाषालाई जीवन्त राख्न मद्दत पुग्ने अध्यक्ष गुरुङले बताए । ‘यस किसिमको कार्यक्रम र उनीहरुको क्रियाशीलताले पछिल्लो सयम युवापुस्तामा पुराना संस्कृति हराउँदै गएको भन्ने कुरालाई नकार्छ’, उनले भने ।

भोलि अर्थात् पुस १५ गते तमु ल्होसार पर्व हो । सरकारले पर्वको अवसरमा बिहीबार सार्वजनिक विदासमेत दिएको छ । ल्होसार पर्वको अवसरमा बिहीबार संस्थाले जिल्ला कार्यालय रहेको बुटवलस्थित रामनगरमा सांस्कृतिक कार्यक्रम गर्दै छ । भोलि गुरुङ समुदायले गाई वर्गलाई विदाई र बाघ वर्गलाई स्वागत गर्दै पर्व मनाउँदैछन् ।