शुक्रबार, १६ चैत्र २०८० ०३:४९

देवदह हाफ म्यारथनको उपाधि तिर्थ पुन र राममाया बुढालाई

शनिबार, १४ माघ २०७९ १२:५३

हेल्लो नेपाल,देवदह ।
रुपन्देही जिल्लाको देवदहमा आयोजित देवदह हाफ म्याराथन–२०७९ को उपाधि तिर्थ पुन र राममाया बुढाले हात पारेको छ । लियो क्लब अफ लर्ड बुद्धको आयोजना र देवदह नगरपालिका र प्रदेश खेलकुद परिषद्को सहयोगमा सम्पन्न भएको हाफ म्याराथन तिर्थ पुन र राममाया बुढाले हात पारेको हो।

३ सय ६७ जनाले सहभागीता जनाएको प्रतियोगितामा ५४ मिनट ३० सेकेन्डमा हाफ म्याराथनको दुरी पूरा गर्दै काठमाडौंका तिर्थ पुन पहिलो भएका हुन्। त्यस्तै

५५ मिनटमा दुरि पूरा गरेका बैतडीका मोहन देव जोशी दोश्रो स्थान हासिल गरेका छन् भने ५६ मिनट २९ सेकेन्डमा पूरा गर्दै लमजुङका राम्झी बस्नेत तेश्रो भएका छन् ।

त्यसैगरी हाफ म्याराथन महिलातर्फ नेपाल पुलिस क्लबकी राममाया बुढाले १ घन्टा १६ मिनट २० सेकेन्डमा दुरि पूरा गर्दै प्रथम स्थान प्राप्त गरेकी छन्। त्यस्तै १ घन्टा १६ मिनट ३५ सेकेन्डमा पूरा गर्दै दोलखाकी अञ्जु खड्का दोश्रो र बुटवल मोतिपुरकी रेखा थापा श्रीले १ घन्टा ३२ मिनट ५० सेकेन्डमा दुरि पूरा गरी तेश्रो भएकी छिन् ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका सचिव तथा रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माननीय छबिलाल विश्वकर्माले खेलकुद जीवनको अमुल्य अङ्ग रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रको विकासको लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिनुभयो । उहाँले खेलकुद क्षेत्रको समग्र विकासको लागी आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले सहभागी खेलाडिहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी बन्न शुभकामना दिनुभयो ।

त्यस्तै देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले देवदहलाई पर्यटकीय हवको रुपमा विकास गर्न आफु लाग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देवदहलाइ विश्व सामु परिचित गराउन लियो क्लबले सहयोग गरेको र देवदहको खेलकुदको विकासमा महत्त्वपूर्ण योगदान गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गर्नुभयो ।

त्यसै गरी कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद्का सदस्य जय प्रकाश भट्टराईले यो प्रतियोगिताले देवदहको पर्यटकीय स्थलको प्रचार प्रसारमा ठूलो योगदान पुगेको बताउनुभयो ।

म्याराथनमा प्रथम ,दोश्रो र तेश्रो हुने महिला तथा पुरुष तर्फ दुबैले नगद रु २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र ,१५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र १० हजार सहित टर्फी, मेडल र प्रमाणपत्र क्रमशः प्राप्त गरेका थिए ।

खैरेनी बुद्ध पार्कबाट सुरु भएको म्याराथन खैरेनी बुद्ध चोक बाट सुरु भएर पिपलडाँडा, पाकडी, शान्तिनगर चोक, शित्तलनगर चोक, मायादेवी पार्क, टटेरा, भवानिपुर(बुद्धको मावली घर), विजयपुर, नगरपालिकाको भवन हुँदै, लोकेश्वर मन्दिर र पुनः बुद्ध चोक आएर सकिएको थियो । प्रतियोगिता लियो क्लबका अध्यक्ष राहुलदेव सापकोटाको अध्यक्षता,पुर्व अध्यक्ष लियो लायन गोपाल पाण्डेको स्वागत र संस्थापक अध्यक्ष लियो लायन दिपेश मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।