मंगलवार, ६ चैत्र २०८० १६:२०

नन्कुन्नी मृत्यु र निर्मला बेपत्ता प्रकरण : आमरण अनसनरत रुबी खान र सरकारबीच सहमति

बुधबार, ३ कार्तिक २०७८ ०३:४१

कार्तिक ३, हेल्ल्लो नेपाल ।

बाँकेकी नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता सम्बन्धमा सरकारले छानबिन गठन गर्ने सहमति गरेपछि महिला अधिकारकर्मी रुबी खानले आमरण अनसन तोड्नुभएको छ । साथै आन्दोलनरत पक्षले आन्दोलन स्थगित गरेका छन् ।
मंगलबार सरकार र आन्दोलनरतपक्षबीच भएको वार्तामा गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गर्ने सहमति भएको थियो । समितिमा मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवानलाई पनि राख्ने, ७ दिनभित्र प्रतिवेदन बुझाउने सहमति भएको छ । सहमतिपछि काठमाडौको माइतिघरमा मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएर अधिकारकर्मी रुबी खानको अनसन तोडाउनुभएको थियो । सो क्रममा प्रवक्ता पोखरेलले समितिले स्थलगत अवलोकन गरेर घटनाको छानबिन गर्ने बताउनुभयो । समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले दोषीमाथि कारबाही गर्ने उहाले बताउनुभयो ।

छानबिन समितिलाई ७ दिनको म्याद दिएर प्रतिवेदन बुझाउन निर्देशन दिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
अनसन तोडेपछि अधिकारकर्मी रुबी खानले आफुहरुको आन्दोलन दुई महिलाका लागि मात्र नभएर मुलुकभर नै हिंसामा परेका महिलाहरुको न्यायका लागि आन्दोलन भएको बताउनुभयो । उहाले सरकारले गरेको लिखित सम्झौता अनुसार कारवाही नभए यो भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
बाँकेमा भएका दुई घटनाका बिषयमा स्थानीय प्रशासनले कुनै चासो नदेखाएको भन्दै महिला अधिकारकर्मी लगाएतको समूह नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आएका थिए । बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको घटनामा अनुसन्धान नगरेको र नजिकैको परस्पुरगाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा पनि प्रहरी र प्रशासनले चासो नदेखाएको भन्दैं उनीहरुले माइतिघरमा धर्ना दिदै आएका थिए ।