शुक्रबार, १६ चैत्र २०८० २०:०१

‘निर्वाचन सुरक्षा कार्ययोजना’ बनाउन गृहमन्त्रीको निर्देशन

सोमबार, १२ पुष २०७८ १४:३४

पुष १२, हेल्लो नेपाल ।

नेपाल सरकारले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचन र आगामी स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था र स्रोतसाधनबारे सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार विभिन्न मन्त्रालयका मन्त्री, सचिव र सुरक्षा निकायका प्रतिनिधिहरूसहितको संयुक्त बैठकमा सुरक्षा रणनीति र बन्दोबस्तीका सामानबारे सुझाव लिइएको हो । बैठकमा निस्पक्ष, सुरक्षित र शान्तिपूर्ण निर्वाचनका लागि निर्वाचनमा सुरक्षा सरोकारका विषय तथा निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आँकलन र व्यवस्थापनसम्बन्धी विविध विषयमा छलफल भएको हो । बैठकमा विभिन्न प्रस्ताव आएका र प्राप्त सुझावका आधारमा योजना बनाउने, स्रोत साधनको आँकलन गर्ने, व्यवस्थापन गर्नेलगायत विषयमा पुनः छलफल गरेर अघि बढ्ने गृह मन्त्रालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले बताउनुभयो ।

बैठकमा अर्थ, रक्षा, परराष्ट्र, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलगायत सबै सुरक्षा निकायका प्रतिनिधिको उपस्थिति थियो ।