शुक्रबार, १६ चैत्र २०८० १९:१७

प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउन सहयोग गर्ने सवैप्रति आभार- सभामुख

आईतवार, २ आश्विन २०७९ ०५:४४

असोज २

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउन सहयोग गर्ने सवैप्रति आभार व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको पहिलो कार्यकालको अन्तिम बैठकमा सभामुख सापकोटाले संसदलाई आम नागरिकको विश्वासको धरोहरका रुपमा सधैँ गतिशील बनाउन झक्झक्याइ रहने सवैप्रति पनि धन्यवाद दिनुभयो । विभिन्न आरोह अवरोह पार गर्दै, कयौं विषयलाई निष्कर्षमा पुर्याएर र केही विषय सघन विमर्शका लागि सुम्पेर संघीय संसद, प्रतिनिधि सभाको पहिलो कार्यकाल सम्पन्न भएकोउहाले बताउनुभयो ।

एउटै कार्यकालमा दुई–दुई पटकसम्म संसदको विघटन र पुनर्स्थापना सम्भवतः विश्वकै संसदीय इतिहासमा पहिलो परिघटना भएको उहाले बताउनुभयो । उहाले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा जारी गर्ने सन्दर्भमा प्रतिनिधि सभामा दलहरुबीच देखिएको अभूतपूर्व एकताको प्रदर्शन सदा स्मरणीय रहने धारणा पनि राख्नुभयो ।

सभामुख सापकोटाले आगामी मंसिर ४ गतेका लागि तय भएको अर्को प्रतिनिधिसभाको निर्वाचन निश्पक्ष ढंगले सफल बनाउन सबैको योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।