‘लिम्पियाधुरा लिपुलेक र कालापानी हाम्रो हो, सीमानामा काँडे तारले घेरौँ’

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

‘भारतीय बिस्तारवाद मुर्दावाद र गो ब्याक भारत’ जस्ता नाराले हाम्रो सामाजिक सञ्जालहरु खुब तातिरहेको छ । सामाजिक सञ्जाल फेसबुकका प्रोफाइलहरु उक्त नाराको तस्बीर र पोस्टरहरुले मज्जाले रङगिएका छन् । हरेक व्यक्तिले फेसबुकको माध्यमबाट नै किन नहोस् राष्ट्रभक्तिको भावना र देशप्रतिको मायालाई जोडदार रुपमा प्रस्तुत गरिरहेका छन् किनभने भारतको गिद्दे नजर र सीमा अतिक्रमणले नेपाली जनता वाक्क र दिक्क भएका छन् । इतिहासका विभिन्न परिघटनाले पुष्टि गर्छ कि भारत जहिले पनि आफुलाई अन्य देशको तुलनामा बाघ ठान्दछ । भारतले जहिल्यै आफूलाई बाघ सम्झेर छिमेकीलाई सताउने गरेको इतिहास छ । र मौका मिलाएर पटक–पटक आक्रमण गरिरहन्छ । यो उसको पुरानै आनिबानी हो ।

भारत सधै अरु राष्ट्रहरुसँग ठूल्दाइको व्यवहार गर्छ । भारतलाई लाग्छ की नेपाल, भुटान, पाकिस्तान, माल्दिभ्स लगायतका छिमेकी राष्ट्रहरुले उसले भनेको खुरुखुरु मान्नुपर्छ । यदि भनेको मान्दैनन् भने अनेक दुःख दिने र जमिन अतिक्रमण गर्नेजस्ता अनेकन हर्कतहरु गर्दै आइरहेको सर्वविदितै छ । भारतका सबै राजनीतिक दल र नेता तथा संबैधानिक अंगका प्रमुखहरु नेहरुवादबाट दिक्षित छन् । छिमेकीलाई हेर्ने नजर उसका पुर्खाले जे सिकाएर गए, आजसम्म पनि त्यसकै अनुसरण गरिरहेको अवस्था हामी पाउँछौँ । त्यसकारण भारत ‘वर्षको सेरोफेरो सबै मेरो’ भन्ने पराराष्ट्र नीतिमा एक अक्षर पनि परिवर्तन भएको उसका कुनै पनि व्यवहारले देखाउँदैन । छिमेकी देशहरुलाई कहिले नाकाबन्दी लगाएर, कतै कश्मीरको स्वतन्त्रता खोसेर र कतै सीमानामा गोलाबारुद गरेर अशान्ति र हिंसाको खेती जस्ता नीच कार्य गर्नमा भारतीय शासकहरु सधै तल्लिन छन् । भारतको यस्ता व्यवहारबाट नेपाल पनि अलग छैन । भारतको दादागिरीको कारण नेपाल वर्षौदेखि पीडित हुँदै आएको विषय हामी सबैलाई थाहा छ ।

इतिहासमा हाम्रा पूर्खाहरुले भारतको स्वतन्त्रताको लागि आफ्नो बलिदान दिएका थिए । अंग्रेजको पञ्जा र दासत्वबाट भारतलाई मुक्ति दिलाउनका निम्ति स्वतन्त्रताको आन्दोलनमा नेपाली जनताको अटुट साथ थियो । महान भारत बनाउनका लागि नेपाली जनताको रगत र पसिनाको अमूल्य योगदान छ । अझै पनि हजारौं नेपाली युवाहरु भारतीय सेनामा भर्ना भएर निरन्तर सेवा गरिरहेका छन् । के त्यो भारतीय शासकले बिर्सिएको हो ? नेपालले भारतलाई लगाएको गुन आज उसले नेपालको जमिन मिचेर अनि अतिक्रमण गरेर तिर्दै छ । भनिन्छ नेपाल र भारतको सम्बन्ध राम र सिता जतिकै पुरानो छ । दुबै देशका नागरीकबीच गहिरो सम्बन्भ छ ।

तर भारतीय शासकहरुको नेपाल राष्ट्रलाई हेर्ने दृष्टिकोण कहिल्यै पनि असल हुन सकेन । नेपाल र नेपाली जनताको दुःखको मूल कारण भारतीय जनता होइनन् । भारतीय शासकहरु दुःखका प्रमुख कारण हुन् किनभने जहिले पनि भारतले नेपालप्रति स्वार्थको भावले हेर्दछ । नेपालमा सधै अस्थिरता होस् । विकासले गति नलिइयोस् । र अन्तमा नेपाललाई पनि सिक्किम जस्तै गरी विलय गर्न सकियोस् । यहीँ नीतिले रन्थनिएको छ । र, जसरी भए पनि रातारात सीमानाको पिल्लर सार्ने । जंगी पिल्लर भत्काउने । सीमाना मिच्ने । दशगजा मिच्ने, गाँउ र खेतबारी डुबान हुने गरी बाँध बाधेका छन् । स्वार्थका लागि निश्चित समुदायलाई उचाल्ने काम गरेको छ । नेपालको गाँउमा पसेर नेपालीलाई भारतीय सुरक्षाकर्मी एसएसबीले बुटले छातीमा बजारेका छन् । बन्दुकका कुन्जाले कुटपिट गरेका छन् । धम्की दिने र त्रसीत बनाउने जस्ता कार्यहरु भारतको दादागिरीको हर्कतले नेपाली जनता पीडित र आक्रान्त छन् । यस्ता हर्कत नेपाली जनताले कहिले सम्म सहने हो ? भारतको गलत रबैयाको गतिलो जवाफ नेपाल सरकारले कहिले दिने हो ? यी प्रश्नको गतिलो जवाफ नपाउन्जेल सरकारप्रति सीमानामा बस्ने जनताको आशा र भरोसा कमजोर हुँदै जाने निश्चित छ ।

निसन्देहका साथ भत्र सक्छौं की भारत एउटा बिस्तारवादी राष्ट्र हो । यसका दिमाग, मन र आँखामा नेपाललाई लुटने र कब्जा गर्ने मनसाय र छलकपटभन्दा अरु कुनै विचार छैन । वर्षौ पहिले देखि भारतले हाम्रो सुस्ता र कालापानी जबर्जस्ति हडपेको छ । बलपूर्वक मिचेर भारतीय सेनाको ब्यारेक र सेना राखिएको छ । कहिले दक्षिणबाट त कहिले उत्तरतर्फबाट भारतले नेपालको भूमी मिच्दै आफ्नो स्वार्थ पुरा गर्दै छ । ४ मार्च १८१६ को सुगौली सन्धि नेपाल र ईष्टइण्डिया कम्पनीसँग भएको थियो । उक्त सन्धिको धारा ५ अनुसार लिपुलेक मात्र होइन लिम्पियाधुरा सम्म नेपालको भूभाग पर्छ । तर अहिले लिपुलेक पनि हाम्रो नै हो भनेर बाटो धमाधम बनाउँदै छ । हिजोको सम्झौता अहिलेको भारत सरकारसँग होइन, उसका विधता अथवा मालिक अंग्रेजसँग नेपालले सन्धि गरेको थियो । के भारतले त्यो इतिहास बिर्सिएको हो ? नेपाल र भारतबीचको उत्तरी नाकाको छिनोफानो गरिसकेको विषयलाई आज भारतीय शासकहरु किन बुझेर पनि बुझ पचाएको नाटक गर्छन् । के त्यो सन्धिपत्रमा सीमानाका बारेमा लेखीएका बुँदाहरु मेटिएका छन् ? नेपाल सरकारले यस मामिलामा भारतलाई पाठ पढाउने बेला आएको छ ।

पछिल्लो पटक फेरी पनि नेपालको भूमी लिपुलेकलाई भारतले आफ्नो भूमी ठानेको छ । लिपुलेक हडपेर अथवा कब्जा गरेर त्यहाँबाट हुँदै चीनको मानसरोबरसम्म पुग्ने सडकको उदघाटन् गरेको छ । जुन भू–भाग नेपालको हो । जहाँ नेपाली वर्षौदेखि बसोबास गरेको प्रमाण छ । र हामीलाई राम्रोसँग थाहा छ हाम्रो कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको भारत देशभन्दा पुरानो भूमी हुन् जुन हाम्रा पूर्खाले रगत र पसिना बगाएर आर्जित गरेको जमिन हो । उसको जस्तो अंग्रेजले जोडिदिएको मुलुक होइन नेपाल । अंग्रेजले भारत उपहार दिएको जस्तो होइन नेपाल । कसैले दिएको उपहारको मूल्य भारतीय शासकलाई कति छ त्यो भन्दा कयाँै गुणा बढी नेपाली जनतालाई नेपालको माटोको माया छ किनभने नेपाल राष्ट्र कसैले दिएको उपहार होइन । नेपाल वीर गोरखालीहरुको जमिन हो । उसका रगत, बलिदान र पसिनाले निर्माण गरेएको मुलुक हो ।

भारतको पटक–पटकको मिचाह प्रवृतिले नेपालको संप्रभुता र सार्वभौमिकतामाथि निरन्तर आक्रमण हुँदै आइरहेको छ । हामी सबैले बुझेकै छौं । यो घाम जतिकै छर्लङग छ । तर दुःखको कुरा भारतलाई धारे हात बनाएर गाली गर्दा मात्र हाम्रो राष्ट्रियता र संप्रभुता सुरक्षित हुन्छ र बलियो हुन्छ भन्ने कुरा केवल भ्रम मात्र हो । देशका युवाहरुले आन्दोलन गर्ने, रेलिङग भत्काउने र जिन्दावाद र मुर्दावादको नारा मात्र लगाएर राष्ट्रियता बलियो हुँदैन । यो कुरा गम्भिर रुपमा मनन् गर्नु पर्छ । आज भारतको मनोबल यसरी बढदै जानुमा के हामी जिम्मेवार छैनौं ? के भारतलाई हेर्ने नजरमा हाम्रा नेता र कर्मचारीको क्रियाकलाप ठीक छन् त ? यहाँ हरेक राजनीतिक दलको आ–आफ्नो परराष्ट्र नीति छन् । विदेशी राष्ट्रहरुसँग गरिने व्यवहारको संवन्धमा सबै राजनीतिक दलहरुलाई बाँध्ने एउटा साझा परराष्ट्रनीतिको सहितरीकाले कार्यन्वयन हुन सकेको छैन् ।

दक्षिणबाट आएका दूतहरुलाई ढोग्न घरमा खानका लागि पस्किसकेको भात समेत छोडेर भेट्न दौडिएका छन् । को कसले गरे गरेनन् ? विचार गर्नु होला । आफ्नो हैसियत बिर्सिएर, प्रोटोकल मिचेर, परराष्ट्र मन्त्रालयमा सामान्य जानकारी समेत नगरी पहिला कसले भेटने भन्दै तछाडमछाड गर्दै हाम्रा नेताहरु लाइन लाग्छन् । त्यसैले नेपाली नेता र कर्मचारीको दम र नाडी भारतीय शासकले राम्रोसँग नापेको र छामेको छ । दक्षिणबाट आर्शीवाद नपाए सम्म सरकार नै बनाउन सकिन्दैन भन्ने मानसिक्ताको उपज हो अहिलेको सीमानामा भएको भारतीय अतिक्रमण । त्यसैले आफ्नो आनिबानी सुधार । लम्पसारवादी र आत्मसमर्पणवादी सोच त्याग । नेपाल नै नरहे भोलि केका लागि राजनीति गर्नु र ?

सुगौली सन्धिले लिपुुलेक मात्र होइन लिम्पियाधुरा समेत नेपालको जमिन मानेको छ तर सन् १९६० देखि यताका नक्साहरुमा संकेत चिन्हद्धारा लिपुलेकसमेत सबै भारततर्फ पारेर देखाएको छ । यतिका वर्षहरु बितरे गए तर यहाँ राजनीतिक दलका नेता, कर्मचारी, गृहमन्त्रालय, रक्षामन्त्रालय सबै नेपालको नक्साको बारेमा अनविज्ञ भएको पाइयो । अहिले आएर थाहा भयो नेपालको नक्सा विद्यालयमा गलत पढिएछ र गलत पढाइँदै रहेछ ।

भारतले कहिले कालापानी त कहिले लिपुलेक अतिक्रमण गरिरहेको छ । हामी विज्ञप्ति मात्र निकाल्छौँ । हामी आफ्नो भूभाग फर्काउन सकिरहेको छैनौं । हिजो सुस्ता र कालापाली अतिक्रमण गर्यो । आज लिपुलेक मिचेको छ । भोलि गएर काठमाण्डौं पनि हाम्रो नै हो भनेर उसका अग्नि क्षेप्यास्त्र उत्तरतर्फ तेर्साउन थाल्यो भने के गर्ने ? नेपाल राष्ट्र र सार्वभौमिकतालाई सुरक्षित राख्न हामीसँग के विकल्प छन् ? भारतले आफ्नो भौगोलिक नक्सामा नेपालको लिपुलेकलाई समेत समाबेस गरेर प्रकाशन गर्याे र नेपाललाई मनोवैज्ञानिकरुपमा दबाव दिइरहेको छ । नेपाल तर्फबाट पनि आफ्नो सम्पूर्ण भूभागलाई समेटेर नक्सा प्रकाशन गरौं भन्दा नक्सा छाप्ने काम किन गर्ने हामी हाम्रो जमिन नै फिर्ता ल्याउछौं भनेर अहिले सरकार कुर्लिरहेको छ । यसको नतिजा चाँडै नै देख्न पाइयोस ।

नेपाल सरकारले कुनैपनि हालतमा चाँडै नै सम्पूर्ण अतिक्रमण जमिन फिर्ता ल्याउन सफल हुनुपर्छ । त्यसपछी भारतसँग भएको खुल्ला सीमाना नेपाल र नेपाली जनताको लागि फाइदा छ की छैन यस विषयमा व्यापक बहस गर्नुपर्छ । तत्कालको लागि भारतलाई नेपालसँगको खुल्ला सीमानाको धेरै फाइदाहरु छ । त्यसैले ऊ खुल्ला सीमाको पक्षमा छ । जब उसले यसको फाइदा देख्दैन र नेपाली जनताबाट प्रतिफल पाउन छोडछ, त्यसपछी भारत आफै सीमानामा शील्ड गर्नेछ ।

त्यसकारण, भारतसँगको खुल्ला सीमाना नेपालको लागि फाइदाजनक छैन । सम्पूर्ण अपराधिक घटना, हिंसा र घुसपैठ उतैबाट नेपालमा हुनेगरेको प्रमाण अनगिन्ति छन् । नेपाली जनता पटकपटक असुरक्षीत भएका छन् । अब सीमा अतिक्रमणलाई रोक्न र दुबैतर्फका जनतालाई सुरक्षीत राख्न, नाँकामा नेपाल प्रवेश गर्ने भारतीय नागरीकहरुको रेकर्ड राख्नु पर्छ । बीना रेकर्ड नेपाल प्रवेशमा रोक लगाउनु पर्छ । र, भारतसँग जोडिएका सम्पूर्ण सीमानामा काँढे तारले घेर्नु पर्छ । काँढे तारको बार लगाउनु पर्छ र त्यसमा हजार भोल्टको बिधुत जोडनु पर्छ । हाम्रो देशको परराष्ट्र नीति तथा रणनीतिहरु (डिफेन्सिफ) रक्षात्मक शैलीका छन् । अब राष्ट्रको सम्पूर्ण रणनीतिहरु समयको माग अनुसार रक्षात्मक अनि आक्रमक दुबै अवलम्बन गर्न ढीलो गर्नु हुन्न । तबमात्र नेपाल राष्ट्रको एक इन्च जमिनमा पनि कसैले अतिक्रमण गर्ने दुस्साहस गर्दैन । नेपाल सरकार यस विषयमा गम्भिर हुन जरुरी छ । वर्तमान अवस्थामा नेपालको इतिहासमा नै सबै भन्दा बलियो, प्रगतिशील र झण्डै दुई तिहाईको सरकार छ । तसर्थ, यी कार्यहरु गर्न किन डराउने ?


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *