क्वारेन्टिनबाट पहिरैपहिरोबीचको कष्टकर यात्राको स्मरण

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

✍️यशोदा गैरे
लामो यात्रामा रमाउने, प्रकृतिको काखमा निदाउन खोज्ने लाखौँको भीडमा म पनि एक पात्र हुँ । पेशाले शिक्षक भएको हुनाले लक डाउन खुलेलगतै शिक्षा मन्त्रालयको विद्यालयका शिक्षकहरू अनिवार्य उपस्थित हुने निर्देशनबमोजिम जानुपर्ने भयो । म काठमाण्डौमा दिदीको घरमा अडकिएकी थिएँ । चैत्रको १० गते, केही दिनको लागि दिदीको सात वर्षे प्यारो छोरालाई भेट्छु र १० दिनपछि बुटवल फर्कन्छु भनेर गएकी थिएँ तर कोरोनाको माहामारीले लकडाउन बढ्दै गएपछि त्यहीँ बिताएँ करिब चार महिना ।

शिक्षा मन्त्रालयको आदेशअनुरूप हामीलाई जानैपर्ने भयो । लामो यात्रा, हिमाली जिल्ला मनाङको बाटो, त्यहीँमाथि बर्षात्को समय भएकाले मनमा करिब १५ दिनअघि देखि नै त्रास बढिरहेको थियो कसरी पुग्ने भनेर । हिउँदमा गाडी गुड्दा डरले मन काप्ने ठाउँ भए तापनि साँगुरो र भीरैभीरले भरिएको तर प्राकृतिक सुन्दरताले ढाकेको अनि झरनाका छटाले मन लोभ्याउने दृश्यले जहिले पनि म आनन्दित हुन्छु । तर बर्षात्को बेलामा धेरै ठाउँमा पहिरो गएको र माथिबाट डुङ्गा झर्ने हुँदा सबैको मन अत्तालिनु स्वभाविक थियो। एउटा मन आफ्नो कर्म ठाँउमा जान पाउँदा खुसी थियो भने अर्को मन बाटाको अवस्थाले आतिएको थियो ।

परिस्थिती सहज पकै थिएन, किनकि लामो रुटको गाडी चलेका थिएनन् र कोरोनाको भए यथावत् थियो । सँगसँगै पहिरोले गाडी हिँड्न पनि नसक्नेगरी बिग्रिएको सडकको खबरले कति घण्टा हिँड्नुपर्ने भन्ने कुरामा अन्योलता । अन्जान हुँदाहुँदै पनि जस्तो परिस्थिीति आइपरे पनि सामना गरौँला भनी अठोठका साथ जाने योजना बनायौँ । काठमाण्डुबाट तीन जना, चितवनबाट सात जना, पोखराबाट पाँच जना, लमजुङमा रहनुभएका अन्य साथीहरू, बुटवल , कपिलवस्तु , प्युठान र सप्तरीका साथीहरूसमेत लमजुङको बेसी सहरमा भेट्ने भयौँ । र दुःख सुख गरी जाने भनेर योजना बनाउँदाबनाउँदै निर्णयले १४ गते, बुधबारलार्इ रोज्यो ।

योजनाअनुरूप १४ गते बिहान हामी ४:३० मा प्रेम सर, अन्जु म्याम र म बसुन्धराचोकबाट डुम्रेसम्म रिर्जब गरेको गाडीमा हिँड्यौँ । यात्रा कुन साथी कतिखेर कहाँ आइपुग्नु भयो भन्दै फोन गर्दै अगाडि बढ्यो। झिस्मिसे बिहानीको चिसो बताससँगै सुनसान सडकमा गाडी आफ्नै रफ्तारमा गुडिरहेको थियो भने मेरो मनमा अनेक ज्वारभाटा निस्कँदै थिए । हिँड्ने बेलामा पानी परिहेको थियो । लाग्यो, प्रकृतिले खतराको संकेत दिइरहेछ । आजको दिन नै हाम्रो लागि अन्तिम पो हो कि ? अब मेरो प्यारो छोरो आकु अर्थात् आकर्षणलाई ( दिदीको छोरा देख्नै पो पाउँदिनँ कि ? चसक्क मन दुख्यो।

प्रेमलार्इ परिभाषित गर्न असर्मथ भए पनि आफ्नो मुटुभन्दा माया छ उसको । स्वार्थबिहिन, छलकपटबिहिन र पवित्र मायाले भरिएको हृदयको अनुभूती छ ऊसँगको । ऊ जन्मेको दिन डाक्टरले बाबुलाई मेरो हातमा दिएको मीठो स्मृति मेरो मानसपटलमा अमिट बनेर बसेका छन् । संसारमा उसको जति माया कसैको लाग्दैन भनेर भन्न सक्छु । मन अमिलो भयो । पानी केहीबेर रोकिएपछि मन पनि केही हलुङगो भयो ।
“हे प्रभु ! जसरी हुन्छ हामीलार्इ सकुशल पुर्याईदिनु”, भनेर प्राथना गर्नुको बिकल्प थिएन हामीसँग । म अरू साथीहरूभन्दा बढी डराएकी थिए किनकि म अरूजस्तो गरी भीरपाखामा हिँड्न सक्दिनँ । जन्म, हुर्काइ इण्डिया, पछिल्लो समय बुटवल बिताएकी र पहिरोकै कारण मेरो अमुल्य मान्छे जन्मदातालाई गुमाएको हुनाले भीरपाखा देख्दामात्र पनि मेरा मुटु र खुट्टा काप्छन् । आँखा रसाउछन्।
मैले कहिल्यै सोचेकी थिइनँ, यसरी घनघोर चट्टान र भीरपाखालाई प्रेम गर्दै यहाँसम्म आइपुग्छु भनेर ।
प्राकिृतिक छटाले भरिपूर्ण छ मनाङ । यही सुन्दरता र मनमोहक दृष्यले बर्षातका भेललाई बिर्साएर तानेर ल्यायो मलाई ।

भनिन्छ, सुन्दरताभित्र एउटा डरलाग्दो कथा लुकेको हुन्छ ।
बाटोमा खानाको लागि एक र्थमस चिया र अलिकति चना बोकिकी थिएँ, तर खानेभन्दा पनि पुग्ने हतारोले थियो। हामी करिब आठ बजे डुम्रे पुग्यौँ। हाम्रा अन्य साथीहरू पनि चितवन र पोखराको गाडीमा सगँसँगै आइरहनुभएको थियो । अब कसरी बेसीसहर पुग्ने भन्दाभन्दै प्रेम सरले आफू चीतवनको गाडीमा जाने र हामी दुई जना पोखराबाट आउँदै गर्नुभएका साथीको गाडीमा बेसिसहरसम्म पुग्ने कुरा जनाउनुभयो। बेसीसहर पुगेपछि पाँच मिनेटको पर्खाईपछि दुबै गाडी आइपुगे, र आआफ्ना गाडिमा चढ्यो । चार महिनापछि साथीहरूलाई भेट्दा खुसी लाग्नु स्वाभिक थियो भने सबैको अनुहार बाटोको चिन्ताले अँध्यारो बनाएको थियो । ठाउँ ठाउँमा चेकिङ थियो । कहाँबाट आउनुभएको, कति जना र कहाँ जाने ? प्रश्नहरू आइरहन्थे । हामीसगँ हाम्रो पालिकाले पठाएको पास थियो । त्यही देखाउँदै आफूलार्इ स्कुलको स्टाफ बताउँदै हामी अघि बढ्यौँ
बेसीसहर पुगेपछि कहाँ कहाँ पहिरो गएको छ ? गाडी जान्छ कि जाँदैन ? कति हिँडनुपर्छ ? भन्ने बुझदै धेरै ठाउँमा अफ्ठ्यारो भएको र च्याम्चे र मयार्दी भीरमा नसकिने भन्ने उत्तर पाएपछि मैले मेरा सम्पुर्ण सामानहरू बेसीसहरमै छाड्ने भएँ । एक जोड कपडा र र्थमस मात्र बोकी सानो झोला कसेँ ।

हामी सबैले सेरा बजारको न्युकटेज होटेलमा खाना खाने भयौँ। गन्तव्यमा पुग्ने चिन्ता हुँदाहुँदै पनि भोक लागेकोले खाना खाएरमात्र गाडीको बन्दोबस्त गर्ने निर्णयका साथ कालो दाल, मुलाको अचार र काउलीको सब्जीसगँ खाना खायौँ । र गाडीको बन्दोबस्त गर्नतिर सरहरू फोन घुमाउन थाल्नुभयो । करिब आधा घण्टाको अन्तरालमा तीन वटा गाडी जान तयार भए । जहाँसम्म गाडी जान्छ त्यहीँसम्म जाने निधो गरी हिँड्यौँ हामी ।

गाडी हिँडिसकेपछि खहरेमा पहिरो पन्छाउदै छ भन्ने सुन्यौँ । त्यहाँ पुग्दा काम भइरहेको थियो । पन्ध्र मिनेटको पर्खाईपछि खहरेबाट निस्कियौँ । सामाजिक दूरी, कारोनाको डर केही थिएन मनमा । किनकि बाटोकै कारणाले ज्यान कतिखेर जाने हो भन्ने ठेगान थिएन । हाम्रो गाडीको अगाडि इन्द्रेणीका कलाकार कृष्ण कँडेलज्यूको टिम रहेछ। लमजुङको मस्र्याङदी गाउँपालिकामा पहिरोले तेर्इस घर बगाएको ठाउँमा सहयोगको लागि जाँदैगरेका रहेछन्। प्रत्यक्ष चिनजान नभए पनि सहयोग गर्न जाँदैगरेको देखेर मनबाट धन्यवाद दिएँ ।
ठाउँ ठाउँमा माथिबाट पहिरो खसिरहेकै थियो भने हाम्रो गाडी तलबाट गुडिरहेको थियो । सबैको मनमा त्रास थियो, अब के हुने हो ? पुनः करिब २५ मिनेटपछि अर्खलेमा र्भखर डोजरले पहिरो हटाएर फकिर्दै गर्दा चार वटा गाडी मात्र गएछन्, तर हामी पुग्नसाथ पुनः पहिरो खस्यो र गाडी रोकियो । हिँड्नुपर्ने भयो । सबैले गडीभाडा तिर्यौँ र हिँड्ने शुर कस्यौँ।
प्रेम सर, टोलप्रसाद, त्रिलोचन र पार्वती म्यामको पछाडि थिएँ म । मसिना ढुङगा पानीको भेलसँगै आइरहेको थियो । मेरो झोला भने प्रेम सरले लिनुभएको थियो । ठ्याक्कै बीचमा पुग्दा माथिबाट ढुङ्गा खस्दै रहेछ, पारिबाट मान्छेहरूले देखेर चिच्याइरहेका थिए । हामीले केही बुझेनौँ । तर बीचमा पुग्दा ड्याङडुङको आवाज आयो । प्रेम सरले छिटो छिटो भन्दै इसारा गर्नुभयो। मेरा खुट्टा कामे र म चिप्लिए छेउमै घनराज सर हुनुदोरहेछ । समाउनु भयो । र हामी छिटो छिटो तर्यौँ। पछाडिका अरू साथीहरूलाई फर्क भन्ने इसाराले पारि नै रादख्यौँ । हामी तर्नसाथ दुइटा ठूला ढुङ्गा खसे । मन जिरिङ्ग भयो ।
एकछिन पछि संगीता , प्रकाश, अलका, श्याम, शुशीलालगायत बाँकी सर र म्यामहरू त्राससहित आइपुग्नुभयो । मर्न कति डर हुने, बाच्ने कति रहर ! जिवनको मूल्य र आफूलाई कति प्रेम गर्छौँ हामी भन्ने मृत्युको मुखमा पुग्दा मात्र थाहा हुँदो रहेछ । अब त्यहाँ बस्नु ठीक थिएन । अलिक माथिसम्म हिँडेपछि दुइटा गाडी देखिए। हामी पुन तीन वटा गाडीका मानिस दुइटामा जसोतसो गरेर चढ्यौँ। कति अनिश्चित छ जिन्दगी ! एक सेकेण्डले बाचेकोमा भगवानलाई धन्यवाद दियौँ । आखिर अदृश्य भए पनि भगवान् हुनुहुन्छ भन्नेमा विश्वास लाग्यो ।
प्राकृतिक प्रकोपलाई कसैले रोक्न सक्दैन । विपत्ति कतिखेर आइपर्छ थाहा हुँदैन । केही मिनेटअघि अतालिएको मन केहि शान्त भयो । मन अचम्मको हुँदो रहेछ ! छिनछिनमा परिर्वतन हुने । केहीक्षण मर्ने रहर, केहीक्षण बाँच्ने रहर । मर्ने रहर गरियो भने केही पलमै जिन्दगी सकिन्छ । दुःखपछि सुख पक्कै आउँछ भनेर मन दरिलो बनाउन सक्यौँ भने जिन्दगीले नयाँ सुरुवात गर्छ ।
झन् अर्को डरलाग्दो पहिरो थियो च्यामचेको । मुटु ढुक् ढुक् गर्न सुरु गरिसकेको थियो । गाडी जति अगाडि बढ्थ्यो त्यति मुटु कमजोर बन्दै गइरहेको थियो। गत वर्ष पनि म यही पहिरोको कारणले एक घण्टा जङ्गलको साँगुरो ,चिप्लो र अफ्ठयारो बाटो हिँड्नु परेकोले त्यो सम्झेर झनै आतिएकी थिएँ। हामी पुग्यौँ पहिरो नजिकै, हिलोमा खुट्टा गड्ने र माथिबाट पनि ढुङ्गा माटो खसिरहेकोले बाटो काट्न नसकिने भएपछि जङ्गलको साँघुरो र उकालो बाटो समायौँ । छेउछाउ केही समाउन सकिने बुटा पनि नभएको बाटो थियो त्यो । केही मित्रहररू अलिक सजिलो गरी जाँदै हुनुहुन्थ्यो भने म , शुशीला र तोयानाथ सरलाई भने हम्मेहम्मे परिरहेको थियो । ठाडो अकालोमा एकछिन त पाइला नै सार्न सकिनँ, तर जसरी भए पनि जानु त छँदै थियो। सबै लाइनबद्घ भई पहिरोलाई छिचोल्दै उकलिँदै गयौँ ।
म सगं एउटा लट्टी थियो । जसले धेरै सहज बनाएको थियो मेरो कष्टपुर्ण यात्रालाई भने झोला बोकिदिएर पावर्ती म्यामले पनि यात्रामा थप सहजता थपिदिनुभएको थियो । माथि आएपछि मेरो थरमसमा भएको तातो चिया खायौँ । केही शक्ति आएजस्तो भयो । झोलामा भएको खाजा र पानी त्यहीँ फालेर झोलालाई हलुङ्गो बनायौँ र फेरि बाटो समायौँ । बाटो राम्रो भएको अवस्थामा तलबाट जादाँ पन्ध्र मिनेट मात्र लाग्थ्यो भने अहिले करिब एक घण्टा तीस मिनेटको यात्रापछि मात्र थकाइ मार्न पायौँ ।

त्यहाँ एउटा मात्र गाडी थियो । सबै एउटै गाडीमा नअट्ने भएपछि हामीमध्येको एउटा ग्रुपले गाडी समायो । उहाँहररूलाई लमजुङ र मनाङको सिमाना म्यार्दी खोलासम्म छोडेर हामीलार्इ लिन फर्किने भयो ।
हाम्रै विद्यार्थीको घर नजिकै रहेछ । बिस्ना र सन्तोषको आमाले चिया र काक्रोले सत्कार गर्नुभयो । एकैछिनमा शरीर चङगा भयो ।
मेरो मोबाइल स्विच अफ थियो । शुशीला म्यामको मोबाइलबाट दिदीलाई सकुशल रहेको जानकारि दिएँ । र अनुरोध गरेँ, दाइ र बाआमालाई साँझसम्म केही नभन्न । मैले घरमा कसैलाई जाँदैछु भनेर जानकारी दिएकी थिएनँ । मलार्इ थाहा छ, उहाँहरू आतिनुहुन्छ । तारका तार फोन गर्नुहुन्छ ।
करिब तीस मिनेटमा गाडी फर्कियो । बाँकी दश जना म्यार्दीको पुलमा पुग्यौँ । जुन लमजुङ र मनाङको सिमाना पर्दछ । सोच्नु भयोहोला, यिनीहरू पुगेछन । होइन, कथा अझै बाँकी छ।
अर्को डरलाग्दो पहिरो थियो, म्यार्दिको भीर । हे प्रभु ! यो पहिरो यसरी गएको छ कि माथि ठूला ठूला ढुङगा कति खेर खसुम् भनेर बसेका छन् । तल मसिना चिप्ला ढुङगा अनि म्यार्दि खोला जुन दूधपोखरी हुँदै आई लमजुङग र मनाङको सिमानामा तिलिचो तालदेखि बग्दै आएको मर्स्याङ्दी खोलामा मिसिएर ठूलो वेग सँगै बगिरहेका छन् । खोलामा पानीको वेग बढिरहेको छ । मेरो मुटुको चाल रोकिएला जस्तो भएको छ । अनुहार रातो भएको छ।
त्यहाँ एउटा बाहेक अर्को खुट्टा राखने ठाउँ थिएन । साँगुरो बाटो माथि उक्लेर फेरि तल झर्नु पर्ने । दुर्भाग्यवश एकपलका लागि खुट्टा चिप्लिए सीधा मर्स्याङ्दी खोलामा बगेर कहाँ पुगिन्छ ? थाहा थिएन। वरिपरिका ठूला ठूला चट्टान र पहाडलाई एकचोटि हेरेँ, तिनै चट्टानले मुटु थिचेजस्तो भयो । एकछिन अलमलिए बाटो नदेखेर, तर त्यहाँ एक सेकेण्ड पनि उभिनुभनेको खतरा मोल्नु हो । लाग्यो, यिनै कठोर र शक्तिशालि चट्टान जस्तै मेरो मन र तन भइदिएको भए जिन्दगीका हरेक उतारचढावलाई सजिलै पार गर्न सक्थेँ।
हिँड्नुको बिकल्प थिएन । झोला बोकी हातमा लट्टी लिएर निस्किएँ । अफ्ठयारो भए पनि दुई चार वटा दृश्यलाई मोबाइलको क्यामेरामा कैद गरिदिन प्रकाश ढकाल सरलाई अनुरोध गरेँ । थोरै माथि पुगेपछि अलिक गाह्रो भयो । स्थिरनाथ सरले मेरो झोला समाइदिनुभयो । म विस्तारै पहिरोलाई पछाडि पारेँ । जसोतसो सबै जनाले पार गर्यौँ । मन हल्का भयो । बाँचियो अर्थात् मर्न लेखेको रहेनछ। मर्ने दिन आउँदा यस्तो पहिरो आउँनै पर्दैन होला ! दिन नआइकन केही नहुँदो रहेछ। कसैले यो मरे हुन्थ्यो भने पनि जाँदैन प्राण दिन नआएसम्म । हो, मृत्यु निश्चित छ । तर मृत्युको समय भने अनिश्चित रहेछ ।
मनमा डर त्रास सबै हराइसकेको थियो । सबैको मन खुसी थियो । डरलाग्दा भीर र पहरा थिएनन् बाँकी दुई घण्टाको यात्रामा । तालको डाँडामाथि पनि पहिरो गएको रहेछ, तर त्यो सामान्य थियो । एक घण्टा जति पैदल हिँडी तालको डाँडामा पनि थकाइ मार्दै पार गर्यौँ ।
गन्तव्यमा पुग्न लागेकाले मनमा साहस र उत्साह बढिरहेको थियो । केहीबेरको पर्खाइपछि दुइटा बोलेरो गाडी देख्यौँ, तर सहजै जान तयार थिएन । अलि बढी भाडा दिन्छौँ भनेपछि जान तयार भएँ । करिब तीस मिनेट गुडेपछि हामी हाम्रो गन्तव्य अर्थात् माथिल्लो धारापानी पुग्दै थियौँ । मसँग भएको लट्टीले दुःखमा साथ दिएको थियो । दुःखमा साथ दिनेलाई सधैँ सम्मान गर्नु पर्छ, चाहे त्यो मानिस होस् या निर्जीव वस्तु ।

तीस मिनेट गाडीको गुडाइ र पाँच मिनेटको हिडाइ पछि हाम्रो घर अर्थात् स्कुलमा पुग्यौँ । जहाँ हामीहररूलाई बस्नको लागि सेल्फ क्वारेन्टिनको व्यवस्था थियो । स्कुलको गेटभित्र होस्टेलको भवनमा हामी चौध दिनका लागि बस्नुपर्ने भयो ।
साँझको सात बजिसकेको थियो गेटभित्र पुग्दा चीसो बतास र सिमसिमे पानी परिरहेको थियो । लाग्यो, हिँड्ने बेलामा पनि यसैगरी पानी परेको र पुग्दा पनि पानी परिरहेको, शुभयात्रा र स्वागतको संकेत दिएको रहेछ प्रकुतिले ।
स्कुलमा हुनुभएकी मनकुमारी दिदीले हामी सबैको बिस्तारा ल्याइदिनुभयो । गाउँपालिका र स्कुलले खानाको व्यवस्था गरिदिनुएको रहेछ । सबैलाई थकाइ लागेकोले खाना खाई आराम गर्न आफ्नो क्वारेन्टिनको न्यानो बिस्तारातिर लाग्यौँ ।
बर्षातको मौसममा यात्रा तय गर्नु पकै पनि कष्टकर थियो, तर मौसमको साथ र भगवान्को कृपाले हामीहरू सकुशल आइपुगेकोमा खुसी हुँदै क्वारेन्टिनको अनुभव बटुल्दै छौँ ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *