समृद्ध राष्ट्रका सारथी सम्धीहरु होइनन्, कुलमानजस्ता राष्ट्रसेवक हुन्

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

मिन बहादुर सुनुवार ‘सुमन’
यो साता दुई जना व्यक्तिहरुको चर्चाले सामाजिक सञ्जाल खुब तात्यो । एकजना थिए, रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोख्रेलका सम्धी, डा. उपेन्द्र कोइराला । जसले राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिको अध्यक्षमा राजनीतिक नियुक्ति पाएको विषयले सामाजिक सञ्जाललाई ततायो । ईश्वरका विभिन्न लोभलाग्दो पदहरुमा शक्तिको आडमा राजनीतिक नियुक्तिको लाभ प्राप्त गरेको आारोप लागेको हुँदा यसपटक भने उनी नराम्रोगरी विवादमा तानिए ।
ईश्वर पोखरेलका सम्धी काण्डसँगै चर्चामा आएका अर्का पात्र हुन्, नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ । घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्ननियुक्ति पाएको भन्दै स्वतस्फुर्त रुपमा दिइएको जनताको हार्दिक बधाईले सामाजिक संजाल निकै रङगियो । सर्वविदितै छ कि कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गते सकिदैँछ ।
कुलमान तिनै व्यक्ति हुन्, जसले विद्युत प्राधिकरणको मुख्य जिम्मेवारी अर्थात कार्यकारी निर्देशकमा नियुक्त भएको तीन महिनामा नै ‘१८ घण्टे लोडसेडीङको’ अन्त्य गर्न सफल भए । कुलमानको कुशल व्यवस्थापनका कारण गदगद बनेका सारा नेपालीले उनको कार्यकालको निरन्तरता चाहेकै हो अनि चाहेकै छ । तर, यसअघि कुलमानले पाएको बधाईको अन्तर्य वास्तवमा फेक थियो । अर्थात् मन्त्रिपरिषद् बैठकबाट निर्णय भएको भन्ने समाचार झुठ थियो, हल्ला थियो ।
यो भिडियो पनि हेर्नुहोस्-

यो विषयमा सरकार प्रवक्ता डा. युवराज खतिवडाले प्रष्टसँग मुखको तीतो फाल्दै भनेका थिए, ‘कुलमान घिसिङको पूर्ननियुक्ति सामाजिक सञ्जालले गरेको हो, मन्त्रिपरिषदले होइन् ।’
मन्त्रीको त्यो क्षुद्र र अभद्र बोलीले सर्वसाधरण जनताको मनमा धारीलो छुराले घोपेझैं भयो । त्यसैले, नागरिकले आफ्नो असन्तुष्टिको तीब्र वेगलाई सामाजिक संजालमा धमाधम पोख्न थाले । र, कुलमानको पक्षमा मन्त्रीलाई भेटेर नै आफ्नो भनाइ राख्ने मौका नमिलेको हुँदा सामाजिक संजालको सहारा लिन बाध्य भए । किनभने उज्यालो नेपालका अभियान्ताका रुपमा चिरपरिचित व्यक्तित्व कुलमान घिसिङकले एक शताब्दीभन्दा लामो जलविधुतको इतिहासमा सबैले देख्नेगरी र अनुभव गर्नेगरी राष्ट्र र जनताको सामुन्ने परिणाम देखाउँदै जनताको हाइहाइ पाउँन सफल भए । उनले आफ्नो ४ वर्षे कार्यकालमा केके गरेनन् ? नेपाली जनता उनले गरेका सफलताको लामो सूची नै लिएर बसेका छन् ।
कुलमानले आफु कार्यकारीमा नियुक्त भएको तीन महिनामा नै ‘१८ घण्टे लोडसेडीङ’ हटाए । धिपधिपे टुकी बालेर बस्न बाध्य भएका र आदतमा परेका जनताको घरमा ‘उज्यालो’को वहार ल्याइदिए । जनताको दिपावली, ल्होछार, उधौली–उभौली, इद, क्रिसमस लगायतका पर्वहरु झिलिमिली बनाउन योगदान गरेकै हो । हिजो यही कार्य अरुले किन गरेनन् ? किनकी यो घाम जतिकै छर्लङ्ग छ । तिनीहरु भ्रष्ट थिए । लोभ र चाकरीमा टुप्पीसम्म चुर्लुम्म डुबेको थिए । तर, कुलमानले प्राधिकरणमा बनेको कमिसन र घुँसको विरासतलाई जरैबाट उखालेर फाल्न सफल भए । जनताको घर अध्याँरोमा पार्दै मोटो रकम लिएर उधोगपतिलाई बेचिने विधुतको कालाबजारीलाई निमिटन्न पार्न सफल भए ।
आफ्नो इमान्दारीता र जवाफदेहीतालाई पैसामा सौदाबाजी गरेनन् । उनले आफ्नो इमान, प्रतिभा, क्षमता र योग्यता आफ्नो नीजि र कुनै सम्धीको स्वार्थमा भन्दा जनता र राष्ट्रको भलाइमा उपयोग गरे । के त्यो कुलमानको महान भूल हो ? त्यसैगरी, कुलमान विधुत चुवाहट रोकन् आफै फिल्डमा नखटेको होइन र ? अझ ऐतिहासिक र गौरवपूर्ण कार्य भनेको कमिसन र घोटालाले वर्षौंदेखि घाटामा गएर टाट पल्टिएको विधुत प्राधिकरणलाई नाफामा कसले ल्याउँन सक्यो ? हिजो यो काम गर्न कसैको तागत र हुती थियो ? अह सोह्र आना नै थिएन ।
बरु उल्टै आफ्नो पद र जागिर बचाउँन प्राधिकरणको नाममा विलासी गाडी खरिद गर्दै मन्त्रीहरुको निवास अगाडी ढोकामा कुर्ने को हुन् ? यही कुरुवाहरुको घिनलाग्दो चाकडी र घुँसखोरी प्रवृतिले एउटा जलविधुत आयोजना सम्पन्न गर्न वर्षौ नलागेको होइन् ? दुई चार पुस्ताहरुको जिवन त्यतीकै बर्बाद बनाइदिएको होइन ? किनकी दक्षिण एशीयाकै दोस्रो जलविधुत फर्पिङ हो भन्दा हामीलाई अचम्म लाग्छ । भलै त्यसबेला पूरा एशीया अध्याँरोमा डुबे झैं थियो । छिमेकी राष्ट्रहरु पुरै अन्धकारमा थियो । तर नेपालमा त्यसबेलादेखी नै विधुत उत्पादन प्रारम्भ गरियो । आज त्यो सय वर्षको उपलब्धीलाई मापन गरियो भने हामी कहाँ छौं ? हिजो अध्याँरोमा नै पुस्तौंपुस्ता बिताउँन बाध्य भएका चीन र भारत आज कहाँ छन् ? अचम्म र उदेक लाग्दो विषय के छ भने सय वर्ष अगाडिदेखि जलविधुत उत्पादन गर्न सुरु गरेको राष्ट्रको जनताले १८ घण्टासम्म लोडसेडिङको मार खेप्नु परेको होइन र ? । के यो कुराहरु जनताले बिर्सेका छन् ? पक्कै छैनन् । किनकी नेपाली जनता यी तमाम विषयका जिउदो साक्षी हुन् । त्यसैले जनताले कुलमानको पक्षमा ज्यानको बाजी राखेर समर्थनमा उत्रिएका छन् । तर, उनका पछाडि चाकडीको बलमा स्थापित घुँसखोरीहरुको ग्याङ लागेको छन् । जसले कुलमानको अपार सफलतालाई कुव्याख्या मात्र गर्न व्यस्त छन् । र, कुलमानले केवल क्रेडित अथवा जस मात्र लिने समयमा आए, अरुले ठिक्क पारेको बत्ति बाल्नका लागि टुपलुक्क आए भन्ने आरोपहरु छन् । जुन आरोपहरु पक्षपातपूर्ण र विवेकहीन छन् — ती सबै कथित ‘देशभक्त र राष्ट्र सेवक’ मनुवाहरुको रचित र कथित अतिरंञ्जनाहरु हुन् । किनभने कुलमानले गफ होइन, काम गरेका छन् । परिवर्तन ल्याएका छन् । जनताको मन जित्न सफल भएका छन् ।
त्यसैले, प्राधिकरणमा व्यापक परिवर्तन ल्याउँन र जनताको सपनालाई साकार पार्न त्यसबेला प्रधानमन्त्री प्रचण्ड र उर्जा तथा जलस्रोत मन्त्री जनार्दन शर्माले विश्वास गरेर नै कुलमानलाई उक्त जिम्मेवारी दिएको थियो । कुलमानलाई राजनीतिक र भौतिक रुपमा सहयोग र संरक्षण गरेकै हो । तसर्थ, कुलमानको इमान्दारीता र मिहिनेतले प्रचण्ड सरकारको सफलतामा एउटा बलियो ईटा थप्ने काम नभएको होइन । उर्जा तथा जलस्रोत मन्त्रीले देखेको ‘उज्यालो नेपाल’मा उज्यालो ल्याउँन भुमिका नखेलेको पनि होइन । त्यसबेला सरकारले गरेको ऐतिहासिक ७.५ प्रतिशतको आर्थिक वृद्घिमा कुलमानको योग्दान थिएन त? अवश्य पनि सरकारको नाक दह्रोसँग सगरमाथा झैं ठडिएकै थियो । सरकारले जनताको वहावहाती र अपार माया अनि विश्वास पक्कै पाएकै थियो । अनि उर्जा तथा जलस्रोत मन्त्रीको छाती गर्वले तन्किएर ४२ इन्चको चौंडा भएकै हो । र, जनताले पनि बत्ति अटुटु रुपमा प्राप्त गरेकै होइन र ?
त्यसकारण, कुलमानलाई जोगाउँ । उनलाई निसफिक्री रुपमा काम गर्न दिउँ । उनको क्षमता र दृस्टिकोणलाई राष्ट्र र जनातको प्रगति र भलाइमा उपयोग गरौं । कसैले कुलमानलाई भगवान र राक्षसको उपमा दिन पनि विलकुल बन्द गरौं । त्यसतै, राजनीतिक स्वार्थको लागि कुलमानलाई ‘बलीको बोको’ बनाएर ओली सरकारले एउटा अर्को महान भूल कदापी नगरोस् । कुलमानले ओली सरकारकै पालामा ‘उज्यालो नेपाल’ लाई साकार पार्दै ‘नेपालको पानी जनताको लगानी’ लाई सफल पार्न सकेमा ओली सरकारले पनि संवृद्घिको शिखर पक्कै ढिलोचाडो चुम्न सक्छ । हजारौं मेगावाट विुत उत्पादन गर्दै जनताको जिजिविषामा कायापलट ल्याउँन सकिन्छ ।
त्यसैले, सरकार कुलमानलाई विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्ननियुक्त गरौं । सम्धीकाण्डले यतिसम्म भन्न थालेका छन्, ‘ईश्वर दाहिना भएर मात्रै हुँदैन, सम्धी हुनुपर्छ ।’ अनि पहुँचको आधारमा एउटै सम्धीले दर्जनौँ पटक नियुक्ति पाएपछि यति भन्नु नराम्रोपनि होइन ।
तसर्थ, सम्धीहरुले दर्जनौँ पटक नियुक्ति पाउँदा राष्ट्रको लागि गरेको योगदान के हो ? आजसम्म हामीले बुझ्न सकेका छैनौँ । विभिन्न संस्थामा पटकपटक टेस्टेड मान्छेलाई किन दोहोर्याई तेहर्याई नियुक्ति दिइरहेको छ यो पनि थाहा छैन । तर हामीलाई यति थाहा छ, सम्धीहरुबाट समृद्धि आउँदै आउँदैन ।
बरु, जे भयो–भयो सच्चा र इमान्दार राष्ट्र सेवकहरुको योगदानलाई सम्मान गर्दै कुलमानलाई आगामी कार्यकालको लागि नियुक्ति गरौं । आखिर कुलमान टेस्टेड मान्छे हुन्, सफल टेस्टेड । सफल टेस्टेडलाई फेरि अवसर प्रदान गर्न किन हिच्किहाट ?
सरकारले राष्ट्रसेवक कर्मचारी र व्यक्तित्वहरुको हालत पनि ‘राष्ट्रभक्त भिमसेन थापाको’ जस्तै पीडादायी कालो इतिहास बनाएमा ओली सरकार सफल हुँदै हुँदैनन् । र, प्रधानमन्त्री र जनताले देखेको त्यो समाजवादको यात्राको पहिलो पाइलामा नै विषालु काँडा बिज्न सक्छ ।
किनभने कम्युनिस्ट सरकारले देखेको त्यो ‘समाजवाद’ नेतृत्वको वरिपरि नाच्दै चाकरी गर्दै अनि शक्तिको आडमा राजनीतिक नियुक्ती लिने ‘नेतृत्वको कुनै सम्धी’हरुले भन्दा क्षमता, कर्तव्यनिष्ठ, जवाफदेही कुलमान घिसिङ जस्ता राष्ट्र सेवकहरुले मात्र देशमा संवृद्घि ल्याउँन सक्छन । त्यसकारण, के ओली सरकारले कुलमान घिसिङलाई विधुत प्राधिकरणको कार्यकारी निर्देशकमा पूर्ननियुक्त गर्न सक्छन् ? जनता त्यो दिनको व्यग्र पर्खाइमा छन् ।
यो भिडियो पनि हेर्नुहोस्-


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *