सैनामैनामा १४९ मुद्दामध्ये ३७ वटा मिलापत्र
तुलसीराम पौडेल
फर्साटिकर, असोज २८
रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना रानाले स्थानीय निर्वाचनपछि न्याय समितिको जिम्मेवारी आफूले सम्हालेपछि अहिलेसम्म न्याय समितिमा १ सय ४९ वटा मुद्दा दर्ता भएको बताइन् ।
न्याय समितिमा दर्ता भएका १४९ मुद्दाहरूमध्ये ३७ वटा मुद्दाहरु मिलापत्र भैसकेका छन् भने ४३ वटा मुद्दाहरु हाल प्रक्रियामा रहेका छन् । नगरपालिकाको न्याय समितिमा जग्गा विबाद, घरेलु हिंसा, पानी, कुलो, ज्येष्ठ नागरिकलाई पालनपोषण नभएको जस्ता मुद्दाहरु आउने गरेको नगर उपप्रमुख एवं न्याय समिति संयोजक रानाले बताइन् ।
नगरपालिकामा मिलापत्र हुन नसक्ने खालका ६ वटा मुद्दाहरु अदालत पठाइएको छ । मुद्दा दर्ता गरेर सम्पर्क गर्न नआएका २७ वटा तामेली मुद्दाहरु न्याय समितिमा रहेको उपप्रमुख रानाले बताइन् । त्यसैगरी न्याय समितिमा दर्ता भएका २६ वटा मुद्दाहरु मिलापत्रको लागि वडामा पठाइएको र निर्णय आदेशअन्तर्गत ९ वटा मुद्दाहरु रहेको उनले बताइन् । एउटा मुद्दा दर्ता भएपछि आफँै फिर्ता लगिएको छ । न्याय समितिको जिम्मेवारी सम्हालेको सुरुसुरुमा मुद्दा मिलापत्र गराउन निकै कठिन भएको र पछि सहज हुँदै गएको उपप्रमुख तथा न्याय समिति संयोजक रानाले बताइन् ।