फर्साटिकर माविमा जेहन्दार छात्रवृत्ति रकम हस्तान्तरण कार्यक्रम सम्पन्न
आईतवार, १९ श्रावण २०८२ १४:१९

रुपन्देही — शैक्षिक सत्र २०८२ बाट प्रारम्भ गरिएको कक्षा ११ मा विज्ञान संकायको पठनपाठनलाई ध्यानमा राख्दै शैक्षिक उन्नयन र विकासमा टेवा पु-याउने उद्देश्यले एक विशेष छात्रवृत्ति हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
उक्त विद्यालयबाट प्रारम्भिक शिक्षा अध्ययन गरेका डा. नारायण जिसीले आफ्नो सुपुत्र मेघ बिक्रम जिसी र दिदी बिज्जु जिसी कार्कीको जन्मोत्सवको अवसरमा आफ्नो पूजनीय माता मिना कुमारी जिसीको करकमलवाट दुई जेहन्दार विद्यार्थीहरू — सुरक्षा राना र सुदीप यादव — का लागि पूर्ण छात्रवृत्तिको रूपमा रू. १,००,००० (अक्षरूपी एक लाख रूपैयाँ) हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रमका विशेष अतिथि स्वयं डा. नारायण जिसी र उहाँकी धर्मपत्नी डा. तारा जिसी रहनु भएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर घर्तीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गाउपालिका प्रवक्ता केशव प्रसाद अधिकारीको उपस्थिति थियो।


शिक्षा क्षेत्रका अग्रज शि.अ.स अध्यक्ष रोमाकान्त अधिकारी, सम्पूर्ण जिसी परिवारका विशिष्ट अतिथिहरू, विद्यालयका प्रधानाध्यापक देवराज पौड्यालद्वारा स्वागत मन्तव्य र शिक्षक विष्णु प्रसाद ढकालद्वारा समन्वयमा कार्यक्रम सञ्चालन भएको हो। स.प्र.अ रामजी पौड्यालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त छात्रवृत्तिले विद्यार्थीतर्फ प्रेरणा प्रदान गर्नुका साथै विद्यालयमा विज्ञान संकायप्रति उत्साह र आशा थपिएको महसुस गरिएको छ।