शुक्रबार, १६ चैत्र २०८० ०१:५२

नेकपा एमाले समाजवादी पार्टी दर्ता गर्दै माधव समूह ओलीसगँ छुट्टिए

बुधबार, २ भाद्र २०७८ १३:०७

भदौ–२,हेल्लो नेपाल ।
नेकपा एमाले औपचारिक रुपमा नै फुटेको छ । बुधबार एमाले बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी नामको नयाँ पार्टी दर्ताका लागि निवदेन दिएसंगै एमाले औपचारिक रुपमा फुटेको हो ।

बुधवार निर्वाचन आयोग पुगेर आफ्नो अध्यक्षतामा नेपालले नयाँ पार्टी दर्ताका लागि निवेदन दर्ता गराउनुभएको थियो ।  प्रस्तावित दलको अध्यक्षमा माधव नेपाल स्वयं हुनुहुन्छ भने झलनाथ खनाल वरिष्ठ नेता रहने गरी ९५ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरिएको नेता राजेन्द्र पाण्डेले जनकारी दिनुभयो । चूनाव चिन्ह भने यसअघि खुला किताब प्रस्ताव गर्ने तयारी भए पनि दर्ता प्रक्रियामै रहेको अर्को दलसँग जुधेपछि त्यसलाई छलफलपछि टुङग्याइने पाण्डेले बताउनुभयो ।

उहाले दल दर्ता स्वीकृत हुने बित्तिकै आफूहरु सरकारमा सहभागी हुने बताउनुभयो । दल दर्ता भएपछि चाँडै नै राष्ट्रिय भेला गर्ने तयारी भएको पनि उहाले बताउनुभयो । आफूहरुसँग एमालेका उपाध्यक्ष वामदेव गौतम पनि आउने उहाले दावी गर्नुभयो । एमालेभित्र रहँदा ओलीले गरेको व्यवहार,संसद्लाई पटक पटक भंग गर्दा पनि गलत भएको भन्न नसक्ने ओलीसँग पार्टीमा सँगै बस्‍न नसक्‍ने अवस्था आएपछि नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको पाण्डेको भनाइ थियो ।

उहाले पार्टी एकताका लागि पटक पटक आह्वान गर्दा पनि सुनुवाई नभएकाले बाध्य भएर नयाँ दल दर्ताको कदम चालिएको बताउनुभयो । नेपाल पक्षका अधिकांश स्थायी कमिटी सदस्यहरू भने नयाँ दल दर्ताको प्रक्रियामा सहभागी भएका छैनन ।