बुधबार, ३ कार्तिक २०७८ १८:४५

एमसीसीका बारेमा राजनीतिकरण गर्न खोजियो-प्रधानमन्त्री देउवा

मंगलवार, २२ भाद्र २०७८ १३:०७

भदौ–२२,हेल्लो नेपाल ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा राजनीतिकरण गर्न खोजिएको बताउनुभएको छ । मंगलबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले एमसीसीका बारेमा भ्रम सिर्जना गर्न र राजनीतिकरण गर्न खोजिएको बताउनुभएको हो । प्रधानमन्त्री देउवाले नेपालको बिकासका लागि एमसीसी एकाएक आएको बिषय नभएको र कानूनी प्रक्रिया पुरा गरेर सरकारले प्राप्त गरेको अनुदान भएको बताउनुभएको कांग्रेस सचेतक पुष्पा भुसालले बताउनुभयो ।

नेता देउवाले अघिल्ला सरकारहरुले पनि कानुन बनाएर एमसीसीलाई अघि बढाउँदै आएको बताउनुभएको भुषालले बताउनुभयो । एसीसीका बारेमा अन्य दलसंगपनि छलफल र सम्बाद गरिने भूसालले जानकारी दिनुभयो ।बैठकमा देउवाले संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्न र अनिवार्य उपस्थीत हुन निर्देशन दिनुभएको थियो ।

त्यस्तै कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद बैठकमा अध्यादेश पेश गर्ने जानकारी दिनुभएको थियो । राजनीतिक दल सम्बन्धी अध्यादेश बुधबार नै सदनमा पेश गर्ने र अन्य अध्यादेशलाई पनि क्रमश पेश गर्ने कांग्रेस सचेतक भुसालले बताउनुभयो ।

कांग्रेस संसदीय दलको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका बारेमा जानकारी गराउनुभएको र बुधबारको संसद बैठकमा सरकारद्धारा गठित छानविन समितिको प्रतिवेदन पेश गर्ने बताउनुभएको थियो । संघीय संसदको दुवै सदनको अधिवेशन बुधबार अपरान्ह चार बजे बोलाइएको छ ।