शुक्रबार, १६ चैत्र २०८० ०६:२२

दशैँ, तिहार र छठ पर्वको अवसरमा ३९ जिल्लाका ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन

शुक्रबार, १ आश्विन २०७८ १३:१२

असोज–१, हेल्लो नेपाल ।

दशैं नजिकिदैं गर्दा सरकारले दशैँ, तिहार र छठ पर्वको अवसरमा सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुमा सहुलियत दिन सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

देशका ३९ जिल्लाका विभिन्न ४३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार चामल, क्वाटी, दाल, फापर र पिठोमा प्रतिकिलो रु पाँच, भटमासको तेलमा प्रतिलिटर रु १० तथा तोरी र सनफ्लावर तेलमा प्रतिलिटर रु पाँच छुट दिइएको छ ।

उपभोक्ताले कर्णालीको सिमी र फापरको दानामा प्रतिकिलो रु १० र जिउँदो खसी बोकामा प्रतिकिलो रु १० छुट पाउनेछन् । कम्पनीले दशैँलाई लक्षित गरी खसी बोका ल्याउने तयारी समेत गरेको छ । दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन हेलिकोप्टर, हवाईजहाज र पैदल बाटो प्रयोग गरी खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

काठमाडौँ उपत्यकामा थापाथली, रामशाह पथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा पसल सञ्चालन सुरु भएको छ । सरकाले गत वर्ष घटस्थापनाको १५ दिन अगाडिदेखि मात्र पसल सञ्चालन गरेको थियो । सहुलियत मूल्यको पसल आगामी कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।