शुक्रबार, १६ चैत्र २०८० १६:०१

संयुक्त गठबन्धनको सरकार द्वारा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

आईतवार, २४ श्रावण २०७८ १४:२०

साउन २४ । संयुक्त गठबन्धनको सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन सार्वजनिक गरिएको हो ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड लगाएत सत्ता गठबन्धनमा रहेका दलका नेताहरुले प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । संयुक्त सरकारको मुख्य प्राथमिकता कोभिड १९ को महामारीमा नागरिकको जीवन रक्षा गर्नु रहेको गठबन्धनको प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले न्यूनतम साझा कार्यक्रमबारे जानकारी दिदै संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासनको प्रत्याभूति दिनुका साथै शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने बताउनुभयो ।

त्यस्तै, राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने, सङ्घीयता कार्यान्वयन एवं प्रदेश र स्थानीय तहका सरकारहरूको सवलीकरणको लागि आवश्यक कानून तर्जुमा गर्ने र संसदमा विचाराधीन विधेयकहरू टुंगो लगाउने खड्काले जानकारी दिनुभयो ।

त्यस्तै सामाजिक÷आर्थिक रूपान्तरणको आधार निर्माण गर्दै उच्च र समन्यायिक आर्थिक विकासमा जोड दिने तथा उत्पादनमुखी अर्थतन्त्रमा जोड दिइएको छ भने आपूर्ति व्यवस्थामा सुधार, महङ्गी नियन्त्रण तथा भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने लगाएतका कार्यक्रम रहेको उहाले बताउनुभयो । गठबन्धनलाई कसरी दीगो बनाउने भन्ने विषय पनि प्रतिवेदनमा समावेश गरिएको छ । वर्तमान सरकारमा मन्त्रीले पालना गर्नुपर्ने आचारसंहितालाई समेत प्रतिवेदनमा समावेश गरिएको खड्काले बताउनुभयो ।

त्यस्तै मलको आपूर्ति सुनिश्चित गर्ने, उखु उत्पादक किसानको समस्या समाधान गर्ने र कृषि बीमाको व्यवस्था गरी जोखिम न्यूनीकरण गर्ने पनि गठबन्धनको कार्यक्रममा उल्लेख रहेको खड्काले बताउनुभयो । गुस्तरीय निर्माण सुनिश्चित गर्ने, पूर्वाधार निर्माण ढिलासुस्ती अन्त्य गर्ने र पाँच वर्षसम्म निर्माण कम्पनीले नै भत्केको मर्मत गर्नुपर्ने , पूर्व–पश्चिम लोकमार्ग र काठमाडौं रिङरोड विस्तारका बाँकी काम यथाशीघ्र सम्पन्न लगाएतका कार्यक्रम प्रतिवेदनमा उल्लेख छ । यसअघि गठबन्धनका शिर्ष नेताहरुले प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो ।