शनिबार, १२ फाल्गुन २०८० ०७:३९

जिल्ला सहकारी संघ लिमिटेड रूपन्देहीको ३९ औं वार्षिक साधारण सभा सम्पन्न

बुधबार, २२ कार्तिक २०८० १६:४६

कार्तिक २२ |

जिल्ला सहकारी संघ लिमिटेड रूपन्देहीको ३९ औं बार्षिक साधारणसभा आज बुटवलमा सम्पन्न भएको छ। बुटवल-९, इटाभट्टी स्थित एसियन फूडल्याण्ड एण्ड पार्टी प्यालेसमा सम्पन्न साधारणसभाको उद्घाटन पूर्व अध्यक्षद्वय इश्वरचन्द्र पोखरेल र मुमेश्वर पन्तले पानसमा दीप बाली एवं बखान सिंह गुरूङको तस्वीरमा माल्यार्पण मार्फत गर्नु भएको थियोे।


वरिष्ठ उपाध्यक्ष डोल प्रसाद अर्यालको स्वागत मन्तब्य रहेको साधारणसभामा अध्यक्ष भीम प्रसाद तुलाचनले संघको नीति तथा कार्यक्रम, महासचिव दामोदर पंगेनीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष सुबकान्त न्यौपानेले बजेट तथा लेखा सुपरिवेक्षण समितिका संयोजक जगन्नाथ गौतमले लेखा प्रतिवेदन पेश गर्नुभएको थियोे।
साधारणसभामा सदस्य संस्थाहरूको तर्फबाट चेली कृषि सहकारी संस्थाकी देवी अधिकारी, विषयगत संघहरूको तर्फबाट रूपन्देही बचत तथा ऋण संघका अध्यक्ष वसन्त ढकाल, सल्लाहकारहरूको तर्फबाट डा. खगराज शर्मा, पूर्व अध्यक्षहरूको तर्फबाट इश्वरचन्द्र प‍ोखरेलले साधारणसभा सफलताको शुभकामना दिनु भएको थियो।
नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेलले सहकारीका संघहरूले सदस्यहरूलाई सहकारीको बारेमा बुझाउन नसके सम्म सहकारीमा देखिएको अन्यौल नसकिने विषयमा प्रकाश पार्नु भएको थियोे।
केन्द्रीय संचालकहरूको तर्फबाट केन्द्रीय दुग्ध संघका लेखनाथ पाण्डेले राज्यले सहकारीलाई पर्याप्त नदिएको विषयलाई राख्नु भएको थियो भने राष्ट्रिय सहकारी बैंकका संचालक माधवलाल देवकोटाले सहकारीले नीति र विधिमा चलाउन संघले उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियोे।


वि. सं. २०२४ भाद्र २६ मा स्थापित जिल्ला सहकारी संघ रूपन्देही देशकै पुरानो मध्येको एक २०५७ सालमा देशको उत्कृष्ट सहकारी संघको पुरस्कार पाउन सफल संघ रहेको छ।
अध्यक्ष भिम प्रसाद तुलाचनको अध्यक्षता र महासचिव दामोदर पंगेनीको संचालनमा साधारणसभा सम्पन्न भएको थियोे।