सिद्धार्थ मा.वि. मा SEE २०८१ उत्तीर्ण विद्यार्थीलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

रुपन्देही, सियारी–६ मदनगंजस्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा सम्मान गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) अध्यक्ष खिमनाथ सापकोटाले गर्नुभएको थियो भने ६ नं. वडाका वडाध्यक्ष शेर बहादुर गुरुङ्ग प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको प्रारम्भमा विद्यालयका सहायक प्रधानाध्यापक राम प्रसाद चौधरीले स्वागत मन्तव्य राख्दै सफल विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिनुभयो। विद्यार्थीहरूको तर्फबाट SEE परीक्षामा सहभागी भई सफल भएका सागर यादवले आफ्ना अनुभव सुनाउँदै शिक्षकहरूको योगदान र अभिभावकको साथप्रति कृतज्ञता व्यक्त गरे।

शिक्षक शिला पन्थले आफ्नो मन्तव्यमा परिश्रम, अनुशासन र निरन्तरता नै सफलता प्राप्त गर्ने मूल मन्त्र रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि प्रेरणा प्रदान गर्नुभयो। विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार रानाले विद्यालयको शैक्षिक उपलब्धि, आगामी शैक्षिक योजनाहरू र विद्यार्थीको समग्र विकासमा विद्यालयको प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा सदस्य सन्त बहादुर कुँवर, पूर्व अध्यक्ष कृष्ण प्रसाद नेपाल लगायतले पनि सफल विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो। प्रमुख अतिथि वडाध्यक्ष शेर बहादुर गुरुङ्गले विद्यालयले स्थानीय तहमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएकोमा खुशी व्यक्त गर्दै भावी दिनमा आवश्यक सहयोग र समन्वयका लागि वडाको तर्फबाट प्रतिवद्धता जनाउनुभयो। समारोहको समापनतर्फ विद्यालयका शिक्षक दिपक देवकोटाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
श्री सिद्धार्थ मा.वि.ले SEE २०८१ मा उल्लेखनीय सफलता हासिल गर्दै सियारीको शैक्षिक क्षेत्रमा गौरव थपेको छ।