कोरोना कहरमा बढ्दै गरेको खोप राजनीति

भदौ ४, हेल्लो नेपाल ।
यम राना
खोप वितरणमा राजनीति भएको भन्दै तिलोत्तमा नगरपालिकाका नागरिकहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो गर्न पुगे । तिलोत्तमा व्यापार संघका अध्यक्ष बाबुलाल भुसालको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको टोलीले आफ्नो संस्थाको लागि पनि खोप उपलब्ध गराउन माग गरे।
उद्योग वाणिज्य संघ तिलोत्तमाका पदाधिकारीहरुले आफुहरुले गृहमन्त्री बालकृष्ण खाणको तोक आदेशमा खोप ल्याएको भन्ने हल्ला फिजाए पछि आफुहरु पनि संस्थाका सदस्यहरुको लागि खोप माग गर्न जिल्ला प्रशासन कार्यालय पुगेको तिलोत्तमा व्यापार संघका अध्यक्ष भुसालले बताए ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने हल्ला भए जसरी राजनीतिका आधारमा खोप वितरण नभएको जानकारी दिएका छ्न । तामाङले भने, हामीले पालिकालाई तोकेर खोप दिएका छौ । बाहिर हल्ला भए जस्तो कुनै पनि संघसंस्थालाई खोप दिईएको छैन ।
तिलोत्तमा व्यापार संघले भने खोप वितरणमा राजनीति भएको ठोकुवा गरेको छ । उनीहरुले गृहमन्त्रीको अगाडि प्रमुख जिल्ला अधिकारी र जनस्वास्थ्य प्रमुख निरीह बनेको आरोप समेत लगाए ।
कोरोना भाइरसको महामारीबाट जोगिन नागरिकहरु कोरोना खोप लगाउन आतुर छ्न । विश्व व्यापी रुपमा महामारीको रुपमा देखिएको कोरोना भाइरसबाट मुक्त हुने एउटै उपाय खोप भएकाले पनि खोप प्रति नागरिकको चाहाना बढनु स्वभाविक नै हो ।
नागरिकलाई समयमै खोप दिएर उनीहरुको जीवन सुरक्षित गर्ने दायित्व सरकारको हो । तर जनचाहानालाई पूरा गर्ने भन्दा खोपको नाममा राजनीति गर्न बर्तमान सरकार उद्धत देखिएको र त्यसको प्रभाव स्थानीय तह सम्म परेको तिलोत्तमा नगरपालिकाका वडा नम्बर – १५ का वडा अध्यक्ष खेमराज गुरुङ बताउछ्न ।
विभिन्न मित्र राष्ट्रले अनुदान दिएको र नेपाल सरकारले खरिद गरि ल्याएको खोप नागरिकलाई उपलब्ध गराउन सरकारले विलम्व मात्रै गरेको छैन । राजनीतिक पक्षधरताको आधारमा खोप वितरण गरिएको देवदह व्यापार संघका अध्यक्ष कोशबहादुर गुरुङले बताए । उनले भने , खोप कुनै एक राजनीति दलका लागि होइन, सवै जनताका लागि हुनु पर्दछ ।
त्यसै गरि सरकारले खोप वितरणमा विभेदपुर्ण व्यवहार गरेको तिलोत्तमा व्यापार संघका महासचिव विष्णु बरालले दावी गरे । तिलोत्तमा उद्योग वाणिज्य संघका नाममा काङ्ग्रेसले गरेको राजनीतिले लोकतान्त्रिक व्यवस्थाको समेत धज्जी उडाएको छ , बरालले भने । काङ्ग्रेस सरकारले आफू सम्वद्ध संघसंस्थालाई खोप दिएर राजनीति गर्न पठाएको समेत उनले आरोप लगाए ।
तिलोत्तमा तथा देवदहमा व्यापारीहरुको नाममा ल्याइएको खोप काङ्ग्रेस कार्यकर्तालाई दिन घर- घरमा पुगेर नामावली संकलन गरिएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन । उनीहरुले उमेर समूह अन्तर्गत रहेर विधि सम्मत खोप बाड्न समेत माग गरेका छ्न ।
उद्योग वाणिज्य संघको नाममा काङ्ग्रेसले खोप राजनीति गर्न खोजेको भन्दै तिलोत्तमा व्यापार संघका अध्यक्ष वावुलाल भुसालले त्यस्तो कार्य अविलम्ब रोक्न माग गरेका छ्न । भुसाल भन्छ्न,सवै नागरिकका लागि राज्यले समान ढंगले जिम्मेवारी पूरा गर्नु पर्छ ।
प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भने खोप वितरणमा कुनै राजनीति नभएको बताए । सवै नागरिकलाई समान रुपमा खोप वितरण गरि कोरोनाबाट सुरक्षीत बनाउन आफुहरु प्रतिवद्ध रहेको समेत उनले जानकारी दिए ।