ताजा समाचार

पूर्व विद्यार्थी सुरेन्द्र गुप्ताद्वारा वीरेन्द्र माविका विद्यार्थीलाई ३० थान विद्यालय पोसाक सहयोग
रुपन्देही, सियारी। आफूले पढेको विद्यालयप्रतिको माया र आत्मीयता मानिसले जहाँ पुगे पनि बिर्सन सक्दैन भन्ने उदाहरण बनेका छन् रुपन्देहीको सियारी गाउँपालिका–६, रामगञ्ज निवासी सुरेन्द्र गुप्ता। गुप्ताले सियारी–५, दुर्गापुरस्थित श्री विरेन्द्र माध्यमिक विद्यालयका आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीका लागि ३० थान विद्यालय पोसाक (स्कुल ट्र्याक) सहयोग गरेका छन् । वि.सं. २०६९ सालको एसएलसी ब्याचका पूर्वविद्यार्थी गुप्ता हाल अध्ययनका लागि अस्ट्रेलियामा रहँदै आएका छन्। नेपाल भ्रमणमा आएका बेला आफूले अध्ययन गरेको विद्यालय र त्यहाँ पढिरहेका विद्यार्थीलाई सम्झँदै उहाँले उक्त पोसाक सहयोग गरेका हुन्। आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई विद्यालय पोसाकको व्यवस्थापनमा सहजता होस् र उनीहरूलाई पढाइमा थप हौसला मिलोस् भन्ने उद्देश्यले गरिएको यो सहयोगले विद्यार्थीलाई प्रत्यक्ष राहत पुग्ने गुप्ताले आशा लिएका छन्। विदेशमा अध्ययन गरिरहे पनि आफ्नो विद्यालय र त्यहाँका विद्यार्थीप्रतिको सम्बन्धलाई आत्मीयताका साथ जोडिराख्नुभएका गुप्ताको यो कदम प्रशंसनीय छ। आफूले शिक्षा हासिल गरेको विद्यालयका विद्यार्थीलाई सहयोग गर्नु उनको सामाजिक जिम्मेवारीबोधसँगै विद्यालयप्रतिको सम्मान र मायाको अभिव्यक्ति पनि हो। गुप्ताले गरका सहयोगप्रति विद्यालय परिवारले आभार व्यक्त गर्दै धन्यवाद दिएको छ। पूर्वविद्यार्थीबाट प्राप्त यस्तो सहयोगले विद्यालय र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई अझ बलियो बनाउनुका साथै अन्य पूर्वविद्यार्थीलाई पनि आफ्नो विद्यालयको शैक्षिक विकासमा साथ दिन प्रेरणा मिल्ने विश्वास विद्यालय परिवारले लिएको छ। आफूले अध्ययन गरेको विद्यालयलाई सम्झेर विद्यार्थीको आवश्यकता पूरा गर्न गरिएको सानो प्रयासले पनि उनीहरूको अनुहारमा खुसी ल्याउन सक्छ। सुरेन्द्र गुप्ताको यो सहयोग त्यसैको एउटा सकारात्मक उदाहरण बनेको छ।

तेस्रो देवदह नगर अधिवेशन सम्पन्न, अध्यक्षमा नन्द बहादुर तमू निर्वाचित
देवदह, मंसिर ५। नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला समितिको आयोजनामा तेस्रो देवदह नगर अधिवेशन–२०८३ शनिबार देवदह–खैरेनीस्थित खेमाँ तमू छोंज धींको खेमाँ धींमा सम्पन्न भएको छ। अधिवेशनले नन्द बहादुर तमूको अध्यक्षतामा ९ सदस्यीय देवदह नगर कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींका संस्थापक अध्यक्ष तथा मातृभाषा अभियन्ता भिम प्रसाद तमूको प्रमुख आतिथ्यता र सरोज तमूको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै तमू समुदायको मौलिक भाषा, धर्म, संस्कार, संस्कृति, परम्परा तथा ऐतिहासिक पहिचानको संरक्षण र पुस्तान्तरणमा विद्यार्थी संगठनको भूमिकाबारे महत्वपूर्ण छलफल गरेको छ। अधिवेशनमा बोल्ने वक्ताहरूले मातृभाषा कुनै पनि समुदायको पहिचान, इतिहास र सभ्यताको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसको संरक्षण र पुस्तान्तरणका लागि नयाँ पुस्ताको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका थिए। उनीहरूले तमू समुदायको मौलिक भाषा र सांस्कृतिक सम्पदाको संरक्षणसँगै विद्यार्थीहरूमा शैक्षिक जागरण, सामाजिक चेतना, नेतृत्व क्षमता र संगठनात्मक एकता विकास गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला कार्यसमितिका प्रचारप्रसार सचिव तेज प्रसाद तमू, सह–कोषाध्यक्ष गौं बहादुर तमू, जिल्ला कार्यसमिति सदस्य बम बहादुर तमू, देवदह नगर समितिका सल्लाहकार देवराज तमू तथा नगर समितिका अध्यक्ष भरत कुमार तमूको उपस्थिति रहेको थियो। त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ देवदह नगर समितिका उपाध्यक्ष तथा तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् देवदह नगर सचिव गोपाल मान तमू, तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् देवदह नगर समितिका अध्यक्ष छमाया तमूस्यो, तमु युवा छोंज धीं देवदह नगर समितिका अध्यक्ष बिश्व तमू, नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं बुटवल उपमहानगर समितिका अध्यक्ष मोनिका तमूस्यो, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् सिक्टन इकाई अध्यक्ष दुलमान तमू, खेमाँ तमू छोंज धीं समितिका अध्यक्ष थमन सिंह तमू, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् पेटबानिया इकाई अध्यक्ष साबित्री तमूस्यो, खेमाँ तमू छोंज धीं माङी अध्यक्ष कमला तमूस्यो तथा खेमाँ तमू छोंज धीं युवा अध्यक्ष खेम बहादुर तमूको उपस्थिति रहेको थियो। अधिवेशनमा विभिन्न इकाईबाट सहभागी आमा–बुवा, तमू विद्यार्थी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले तमू समुदायको भाषा, संस्कृति र परम्परालाई भावी पुस्तासम्म जीवन्त राख्न विद्यार्थी तथा युवाहरूलाई संगठित गर्दै विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राखेका थिए। साथै विद्यार्थी संगठनलाई शैक्षिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा थप सक्रिय बनाउँदै समुदायको समग्र विकासमा योगदान पुर्याउनुपर्नेमा जोड दिएका थिए। नन्द बहादुर तमूको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति अधिवेशनबाट नन्द बहादुर तमूको अध्यक्षतामा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिम तमू, सचिवमा बिमल कुमार तमू, कोषाध्यक्षमा भूमिका तमूस्यो र सह–सचिवमा असिम तमू चयन भएका छन्। त्यस्तै सदस्यहरूमा ओकेश तमू, रचना तमूस्यो, दिपिका तमूस्यो र जिसन तमू चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिले देवदह क्षेत्रका तमू विद्यार्थीहरूलाई संगठित गर्दै उनीहरूको शैक्षिक, सामाजिक, सांस्कृतिक तथा नेतृत्व क्षमता विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने अपेक्षा गरिएको छ। साथै तमू समुदायको मौलिक भाषा, संस्कार, संस्कृति र ऐतिहासिक पहिचान संरक्षणको अभियानमा विद्यार्थी तथा युवाहरूको सहभागिता विस्तार गर्दै संगठनलाई थप सशक्त बनाउने जिम्मेवारी नयाँ नेतृत्वसामु रहेको छ। तेस्रो देवदह नगर अधिवेशनले नयाँ नेतृत्व चयनसँगै तमू विद्यार्थीहरूको संगठनात्मक एकता, संस्थागत विकास र सांस्कृतिक पहिचान संरक्षणको अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र पहिचानप्रति सचेत बनाउँदै समुदायको मौलिकता जोगाउने अभियानमा सक्रिय रूपमा जोडिनसमेत सन्देश दिएको छ।

विकास कोषकी उपाध्यक्ष आनीद्वारा पदभार ग्रहण, सबैको सहकार्यमा काम गर्ने प्रतिबद्धता
लुम्बिनी– लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएको लामो समयपछि आनी छोइङ डोल्मा लुम्बिनी आएकी छन् । बुत्रबार लुम्बिनी आएलगत्तै मायादेवी मन्दिरमा पुजाआजा गरेकी उनले त्यसपछि कार्यालयमा पुगेर पदभार ग्रहण गरेकी छन् । गौतमबुद्ध विमानस्थलबाट कडा सुरक्षाका साथ उनलाई लुम्बिनी पु¥याइएको थियो । उनको नियुक्तिलाई लिएर लुम्बिनीमा विरोध भइरहेको थियो । मंगलबार कोषाध्यक्षमा पूर्व एआईजी रमेश शेखर बज्राचार्य नियुक्त भएसँगै कोषले पूर्णता पाएको थियो । त्यसपछि बुधबार आनी लुम्बिनी आएकी हुन् । कोषाध्यक्ष बज्राचार्य र सदस्य–सचिव सन्तोष पाण्डेयले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले आनीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्यसपघि बसेको मन्त्रिपरिषद् बैठकले करिब ६ महिनादेखि रिक्त सदस्य–सचिवमा तिलोत्तमा नगरपालिकाका सन्तोष पाण्डेयलाई नियुक्त गरेको थियो । सोही बैठकले परिषद् सदस्यमा डा. अमित केसी, उपेखा गुरुमा, दीपक कौशल र अर्जुन कुर्मीलाई नियुक्त गरेको थियो । उनीहरु चारै जना रूपन्देहीका हुन् । मायादेवी परिसरमा पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष आनीले सबैको सहकार्यमा लुम्बिनीको विकासमा लागि पर्ने जनाइन् । ‘हामी सबै टीमले काम गर्ने हो, मैले एक्लै के नै गर्न सक्छु र’, उनले भनिन्, ‘हाम्रो टीम र अन्य सबैको सहयोगमा काम गर्ने हो । यसमा सहकार्य गर्नेछौं ।’ उनले आफूले उपाध्यक्ष पदको जिम्मेवारी पाउनु शौभाग्य भएको जनाइन् । उपाध्यक्ष डोल्मा नेपाली नागरिक नभएको र विवादित व्यक्ति भन्दै लुम्बिनी बचाउ महाअभियानले विरोध गर्दै आएको थियो । यसैले पनि उनी नियुक्तिको लामो समय लुम्बिनी आइनन् । बुधबार पनि केही स्थानीय समूह लुम्बिनीको पर्साचोकमा जम्मा भएर विरोध गरेका थिए । सुरक्षा कडा पारेर उनलाई गौतमबुद्ध विमानस्थलबाट लुम्बिनी लगिएको थियो । आनीलाई विमानस्थल, शान्तिदीप, मायादेवी र कार्यालय परिसरमा स्थानीय, शुभेच्छुक, भिक्षुभिक्षुणी, कोषका पदाधिकारी तथा कर्मचारी, बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संघसंस्था र उद्योगी–व्यापारीले स्वागत गरेका थिए ।








