मंगलवार, ६ चैत्र २०८० १४:०२

गृहमन्त्री खाँणद्वारा गृह जिल्लाका धार्मिक स्थलमा परम्परा अनुसार पूजाअर्चना सम्पन्न

सोमबार, २६ बैशाख २०७९ ११:४६

बुटवल -गृहमन्त्री बालकृष्ण खाणले बुटवल १७ मा रहेको मुक्तेश्वर मन्दिर र शुद्दोधन-५ मा अवस्थित दर्बाहा मन्दिरमा आज वैदिक परम्पराअनुसार पूजाअर्चना गरेका छन् । गृहमन्त्रीसहित कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेश सदस्य पुष्पा चौधरी,महासमिती सदस्य बिमल ढकाल, प्रदेश प्रतिनिधी भिम प्रसाद न्यौपाने, वडा नम्बर १७ का पार्टी सभापति बाबुराम घिमिरे , सचिव कमल गुरुङ ,वडा नम्बर १७ का अध्यक्ष पदका उम्मेदवार ज्ञान बहादुर रेस्मी,वडा नम्बर १८ का अध्यक्ष पदका उम्मेदवार गोले प्रसाद चौधरी , १९ का अध्यक्ष पदका उम्मेदवार मिन प्रसाद श्रेष्ठ लगायतले वैदिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गरे ।

सो अवसरमा गृहमन्त्री खाणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिए । उनले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेषखाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक–अर्काको सम्मान गर्नुपर्ने बताए ।

धर्म, जातजाति, क्षेत्रीयता, लिग र भाषाका आधारमा कसैले राजनीति वा समाजलाई विभाजन गर्न खोज्छ भने त्यसले केही व्यक्तिलाई फाइदा पुर्याए पनि आमनागरिकलाई बेफाइदा पुर्याउने उनले बताए ।

गृहमन्त्री बालकृष्ण खाणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गर्दे सरकार स्थानीय तह निर्वाचन शान्ति पूर्णरूपमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।

सीमित स्रोतसाधनको उपयोग गरेर निर्वाचनको सुरक्षा प्रबन्धबारे सुरक्षा निकाय र स्थानीय प्रशासनले गरेको तयारी प्रशंसायोग्य रहेको भन्दै गृहमन्त्री खाणले आगामी दिनमा पनि यो भन्दा राम्रो व्यवस्थापन स्थानीय प्रशासन र सुरक्षा निकायले निर्वाचनका सन्दर्भमा गर्नेमा आफू आशावादी रहेको बताए ।