सरकारलाई चाँडो पूर्णता दिनुपर्छ-रामशरण महत

साउन–२१, संवाददाता । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले यथाशक्य चाँडो सरकारलाई पूर्णता दिनुपर्ने बताउनुभएको छ । रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले सरकार गठन भएको लामो समयसम्म पनि पूर्णता पाउन नसक्नु गलत भएको बताउनुभएको हो ।
उहाले वर्तमान सरकारले यस अघिको सरकारले गरेका गलत कामलाई खारेज गर्नुपर्ने र कमजोरीहरु सच्याउनुपर्ने पनि धारणा राख्नुभयो । त्यस्तै सरकारले जतिसक्दो चाँडो पूर्ण बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । यसअघि अध्यादेशबाट ल्याईएको बजेटलाई प्रतिस्थापन गर्नको लागि पनि नयाँ पूर्ण बजेट ल्याईनुपर्ने पूर्वमन्त्री समेत रहेका महतको भनाई छ । महतले राजनीतिक नियुक्ती गर्दापनि योग्य र सक्षम व्यक्तिलाई उचित जिम्मेवारी दिनुपर्ने बताउनुभयो ।
डा. महतले भदौमै महाधिवेशन हुने सम्भावना लगभग समाप्त भएको पनि बताउनुभयो । अहिलेसम्म क्रियाशिल सदस्यताको विवाद टुँगो नलागेकोले तोकिएकै समयमा महाधिवेशन हुने सम्भावना नरहेको उहको भनाई छ । तोकिएकै मितिमा महाधिवेशन हुन नसक्ने भएपछि अब के गर्ने ? भन्नेबारे पनि छलफल सुरु भएको उहाले जानकारी दिनुभयो ।
महतले कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले आन्तरिक जीवन सधैं सुदृढ गर्नुपर्ने जिकिर गर्नुभयो ।