आईतवार, ७ बैशाख २०८२ ०३:०६

जनताको सेवा छाडी,जनप्रतिनिधि अवैध हतियार बोकेर डुल्दै

मंगलवार, २६ श्रावण २०७८ ११:१३

साउन २६, हेल्लो नेपाल ।
जनताको सेवा गर्ने जनप्रतिनिधि विधि, पद्धति र नियम कानुन मानेर अघि बढछ्न भन्ने सर्वसाधारणको विश्वास रहेको हुन्छ । उनीहरुले गलत र गैर कानुनी काम गर्दैनन भन्ने नागरिकको भरोसालाई कैलालीका एक जना वडा अध्यक्षले तोडेका छन ।

त्यसरी जनविश्वासलाई सम्मान नगर्ने वडा अध्यक्ष हुन जिल्लाको कैलारी गाउँपालिका-९ का वडा अध्यक्ष खेमराज चौधरी । चौधरीलाई ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरी गस्ती टोलीले गैर कानुनी हतियार सहित पक्राउ गरेको हो ।

अवैध हतियार सहित पुर्व पश्चिम राजमार्गको गौरीगङा नगरपालिका -९ मा बा १७ च १३१२ नम्बरको जिप चेकजाँचको क्रममा उक्त हतियार भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रताप विष्टले बताए ।

चौधरी संगै धनगढी उपमहानगरपालिका -२ का मोहित कुमार शाह पनि पक्राउ परेका छन । उनीहरुको साथबाट बाह्र बोर १,त्यस्को कार्टिज १, पोइन्ट टुटु १ थान र त्यसको गोली १० राउण्ड फेला पारेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई हातहतियार खरखजना मुद्दा दर्ता गरि अनुसन्धान भै रहेको बताइएको छ ।