“बाढी र पहिरोका कारण क्षति पुगेको ठाउँमा तत्काल राहत दिनु” -प्र.म. शेर बहादुर देउवा

साउन–२५, हेल्लो नेपाल ।
प्रधानमन्त्री शेर बहादुर देउवाले बाढी र पहिरोका कारण बिच्छेद भएका सडक सञ्जालको तत्काल मर्मत गरि सहज आवतजावतको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । सिंहदरबारमा मंगलबार बसेको बिपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौ बैठकमा प्रधानमन्त्री देउवाले बाढीका कारण पुलहरु बगाएको र सर्वसाधारणको आवतजावतमा कठिनाइ भएको भन्दै तत्काल यान्त्रिक पुल बनाएर सहज रुपमा आवतजावतको व्यवस्था मिलाउन राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशन दिनुभएको हो ।
त्यस्तै बाढी र पहिरोका कारण समस्यामा परेका सर्वसाधारणलाई आवास लगाएत खाधान्नको उचित प्रवन्ध गर्न पनि निर्देशन प्राप्त भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो । उहाले अझै मनसुनको समय बाँकी रहेको र आउन सक्ने थप जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्रोत साधन सहित चुस्त अवस्थामा रहने निर्णय भएको बताउनुभयो । मनाङ, मेलम्ची लगाएतका स्थानमा तत्काल चारवटा यान्त्रिक पुल बनाउनका लागि नेपाली सेनासहितको टोली परिचालन गर्ने निर्णय बैठकले गरेको उहाले जानकारी दिनुभयो ।
गोरखा, मनाङ, बाजुरा लगायतका स्थानमा तत्काल खाधान्न, त्रिपाल, औषधी लगायतका सामाग्री तत्काल लैजाने निर्णय पनि बैठकले गरेको छ । बैठकमा मनसुनयता प्राकृतिक प्रकोपबाट भएका क्षतिका बारेमा छलफल भएको उहाले बताउनुभयो ।