फोनिज अवार्डबाट ८ जना पत्रकार एकैपटक सम्मानित

साउन–२७,हेल्लो नेपाल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले फोनिज अवार्ड–२०७७ बाट पत्रकार आङदावा शेर्पा, मौसम रोका मगर, कुमार यात्रु र राजकुमार दिक्पाल पुरस्कृत गरेको छ । महासंघको २२ औं स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पत्रकारहरुलाई पुरस्कृत गरिएको हो ।
त्यस्तै फोनिज अवार्ड–२०७८ बाट तिलक पुन, रचना श्रेष्ठ, इन्द्रजीत मुखिया र भवानी बराल पुरस्कृत गरिएको छ । गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ पत्रकारलाई पुरस्कृत गरिएको हो । फोनिजले यस वर्षबाट ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ समेत प्रारम्भ गरेको छ ।
‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’बाट थारु भाषामा प्रकाशित हुँदै आएको ‘पहुरा दैनिक’ र लिम्बू भाषामा प्रकाशित हुँदै आएको ‘तान्छोपा मासिक’लाई संयुक्त रुपमा सम्मानित गरिएको छ । पत्रकारिता पुरस्कार र मातृभाषा सम्मानको राशी २० हजार रुपैयाँ रहेको छ ।