अधिकार बिहीन नागरिकहरुको पक्षमा सदैव संघर्ष गर्नेछौ-ठाकुर

साउन–३०, हेल्लो नेपाल ।
जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका नेताहरुले अधिकारबिहीन नागरिकहरुको पक्षमा सदैव संघर्ष गर्ने बताएका छन् ।
जसपा बागमती प्रदेश समितिद्वारा शनिबार काठमाडौंमा आयोजित प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला उद्घाटन कार्यक्रममा उनीहरुले पटक पटक सरकार परिवर्तन भएपनि मधेश लगाएत पिछडिएका जनताको अधिकार पूर्ण रुपमा स्थापीत हुन नसकेको भन्दै अधिकारबिहीन नागरिकहरुको पक्षमा सदैव संघर्ष गर्ने बताएका हुन् ।
कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुरले राज्यले मधेश लगाएत पिछडिएका जनताको पक्षमा कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । जनताको अधिकार स्थापीत गर्नका लागि पटक पटक संविधान संशोधनको कुरा उठाएपनि पुरा हुन नसकेको उहाको भनाई छ ।
उहाले अधिकार प्राप्तीका लागि भएको आन्दोलनका घटनामा नेता कार्यकर्तालाइ लगाइएको मुद्धा फिर्ता हुनुपर्ने दोहराउनुभयो । नागरिकताको कुरा गर्दा आफुहरुप्रति अनावश्यक टिप्पणी गर्ने गरेको उहाले बताउनुभयो । त्यस्तै उहाले राष्ट्रियसभामा पनि जनताको आधारमा प्रतिनिधित्व हुन नसकेको धारणा राख्नुभयो ।
कार्यक्रमा जसपा बरिष्ठ नेता राजेन्द्र महत्तोले आफुहरुले पार्टीको नामका लागि नभएर जनताका लागि कामगर्ने भएकाले निर्वाचन आयोगको निर्णयले कुनै फरक नपर्ने बताउनुभयो । उहाले जुन उदेश्यले जसपा निर्माण गरिएको हो, सो लक्ष्य हासिल हुन नसकेको जिकिर गर्नुभयो ।
कार्यक्रममा जसपाका अन्य नेताहरुले मधेश लगाएत पिछडिएका जनताको अधिकार रक्षाका लागि पार्टीलाई शसक्त रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।