देवदहमा टिपर दुर्घटनामा परी एक जनाको ज्यान गयो

पुष २९, हेल्लो नेपाल |
रुपन्देहीको देवदहमा टिपर दुर्घटनामा परी एक जना चालकको ज्यान गएको छ । चुनढुंगा लिन पाल्पाको माथागढी तर्फ गैरहेको लु २ ख ५९५० नम्बरको टिपर अनियन्त्रित भई देवदह नगरपालिका–६ स्थित गिद्देभिरमा दुर्घटना हुँदा टिपर चालकको ज्यान गएको हो । मृत्यु हुनेमा नवलपरासी सुनवल नगरपालिका–१० हसनापुर बस्ने ५० वर्षीय राम बहादुर कुँवर रहेको प्रहरीले जनाएको छ । टिपर अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको देवदह प्रहरी चौकीका इन्चार्ज गङ्गा बहादुर सारुले बताउनुभयो । चालकको शव पोस्ट मार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।