बुधबार, १९ आश्विन २०७९ ११:०३

नेपाली कांग्रेसद्वारा स्थानीय तह निर्वाचन अभियानको कार्यतालिका सार्वजनिक

बुधबार, २५ फाल्गुन २०७८ १४:०९

फाल्गुन २५, हेल्लो नेपाल ।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रीत फागुन २९ देखि सुरु हुने निर्वाचन अभियानको कार्यतालिका सार्वजनिक गरेको छ ।

पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले घर–घर जाऔं, कांग्रेस जिताऔं अभियानको कार्यतालिका र उदेश्य सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महत्तले सबैको काँधमा भारी, सबैको काँधमा जिम्मेवारी भन्ने नारासहित सबै नेता, कार्यकर्तालाई आवश्यक जिम्मेवारी दिने बताउनुभयो । उहाले फागुन २९ देखि चैत २९ सम्म चल्ने अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिनुभयो ।

अभियान अन्तर्गत कांग्रेसको नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने, एमसीसीका बारेमा जनतालाई जानकारी गराउने योजना कांग्रेसको छ । त्यस्तै केन्द्रबाट निर्धारित अभियानलाई ब्यापक रुपले सफल बनाउन सम्पूर्ण एकता साथ परिचालित हुने र आफ्नो समिति अन्तर्गतका पदाधिकारी र सदस्यहरुलाई सम्बन्धित वडामा अथवा आवश्यकता अनुरुप फरक–फरक वडामा परिचालन गरिने प्रवक्ता महतले बताउनुभयो ।

अभियान व्यवस्थित र प्रभावकारी बनाउन पार्टीको सबै तहमा अनुगमन समिति गठन गरिने र समितिले कार्यक्रमको कार्यान्वयन अनुगमन तथा कार्यान्वयन पस्चातको प्रभाव समेतको विश्लेषण गरेर पार्टीलाई सुझाव दिने उहाले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ३० वैशाखको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताउनुभयो । केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म कांग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने उहाले बताउनुभयो ।

अभियान अन्तर्गत नै भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो संगठनको प्रकृति अनुसारको संरचना, स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने कांग्रेसले जनाएको छ ।