शुक्रबार, १२ आश्विन २०८० २३:०६

मनाङ मस्र्याङ्दी क्लबद्वारा सहिद स्मारक ’ए’ डिभिजन लिगमा विजयी सुरुआत

सोमबार, ६ मंसिर २०७८ ०४:५५

मंसिर ६, हेल्लो नेपाल ।

मनाङ मस्र्याङ्दी क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।

आइतबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत गरेको हो । मनाङलाई जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनेशले खेलको ५६ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । दयानन्द सिंहको कर्नरमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे । जितसँगै मनाङले ३ अंक जोडेको छ ।

त्यसअघि आइतबार नै भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लवले एपीएफ एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्यो । ब्रिगेडलाई जित दिलाउन दिनेश राईले दुई गोल गरे । सुरज गुरुङको नाममा एक गोल रह्यो । एपीएफका आशिष लामा र बिकी तामाङले एक एक गोल फर्काए । जितसँगै नयाँ सिजनको पहिलो खेलमा ब्रिगेडले महत्वपूर्ण ३ अंक जोडेको छ ।

लिग अन्तर्गत सोमबार दुई खेलहरु हुनेछ । पहिलो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।