बुधबार, १९ आश्विन २०७९ १०:३०

राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्यायोजना सम्बन्धित मन्त्रालयमा पठाईयो

बुधबार, २ चैत्र २०७८ १३:०२

चैत्र २, हेल्लो नेपाल ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनका लागि एकीकृत कार्यायोजना सम्बन्धित मन्त्रालयमा पठाईसकेको बताउनुभएको छ ।

राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २१औं वार्षिकोत्सवका अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको भन्दै यससम्बन्धी कार्ययोजना सम्बन्धित मन्त्रालयमा पठाइसकेको बताउनुभएको हो । उहाले उक्त कार्ययोजना कार्यान्वयन अनुगमनको जिम्मेवारीसमेत परिषद् सचिवालयलाई रहेकाले यस गहन जिम्मेवारीलाई प्राथमिकताका साथ पुरा गर्ने अपेक्षा रहेको उल्लेख गर्नुभयो । उहाले मुलुकको आन्तरिक र बाह्य सुरक्षा चुनौतीको वस्तुनिष्ठ विश्लेषणमा राष्ट्रिय सुरक्षा परिषद्ले अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गर्नुभयो ।

संविधानले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्दा तथा नेपाली सेनाको परिचालन तथा नियन्त्रण गर्न नेपाल सरकारलाई सिफारिस गर्ने दायित्व राष्ट्रिय सुरक्षा परीषद्लाई दिएको उहाको भनाई छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले राष्ट्रिय सुरक्षा नीतिको एकीकृत कार्ययोजनाको मार्गनिर्देशिका सार्वजनिक गर्नुभएको थियो । सुरक्षा नीतिको आधारमा सुरक्षा परिषद्ले मार्गनिर्देशिका पुस्तिका तयार पारेको हो ।