शुक्रबार, १२ आश्विन २०८० २२:१३

रुपन्देहीको सियारीमा पशु हाट बजार शुरु (फोटो फिचर)

सोमबार, २२ कार्तिक २०७८ १२:५४

कार्तिक २२, हेल्लो नेपाल ।

रुपन्देही जिल्लाको सियारी गाउँपालिकाले वडा नं.२ को च्याङ्गठामा कोटही पशुहाट बजारको उद्घाटन गरिएको छ । आइतवार एक कार्यक्रमको बीच सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले पशु बिक्री वितरण गर्ने उद्धेश्य सहित उक्त बजारको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले करिब ५ करोड लगानीमा उक्त बजार संचालनमा ल्याउन लागिएको कुरा जानकारी दिदै उक्त बजार संचालनमा आएपछि त्यस क्षेत्रका किसान लगायत मजदुरहरु लाभान्वित हुने बताउनुभयो । उहाँले किसान र मजदुरहरु सम्वृद्ध भएमा मात्र देशको विकास सम्भव हुने उल्लेख गर्दै अध्यक्ष थारुले छिमेकी राष्ट्र भारतसगँको व्यापारिक सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने कुरामा आफु विश्वस्त भएको जानकारी दिनुभयो । अध्यक्ष थारुले यो हाटबजार संचालन सगैँ पशुजन्य विक्री वितरणको क्षेत्रमा उल्लेखीय सुधार हुने कुरामा जोड दिनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुन चन्द चौधरीले यस हाटबजार नेपालकै नमुना पशु हाटबजार भएको बताउदै उक्त हाट बजारबाट करिब यस क्षेत्रका ९० प्रतिशत किसान तथा व्यापारीलाई फाइदा पुग्ने बताउनुभयो । उहाँले देशको आर्थिक सम्वृद्धिको लागी कृषि तथा पशुपालनको क्षेत्रमा सुधार गर्नुपर्ने कुरामा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रम सियारी गाउँपालिका वडा नं.२ का अध्यक्ष राम किशन थारुको अध्यक्षता,सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसै गरी कार्यक्रममा समाजसेवी खेमराज गुरुङ्ग,सियारी गाउँपालिकाका लेखा अधिकृत नारायण प्रसाद पौडेल,प्रशासन प्रमुख चिरन्जीवी गौतम लगायत विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रम सियारी गाउँपालिका वडा नं.३ का अध्यक्ष घिसन अहिरको स्वागत मन्तव्य तथा सियारी गाउँपालिकाका पशुपंशी विकास शाखाका प्रमुख गणेश खनालको संचालनमा सम्पन्न भएको थियो ।