बुधबार, ३ कार्तिक २०७८ १९:१२

साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई सुझाव सहित एमालेको विधान महाधिवेशन पारित,राष्ट्रिय महाधिवेशन वुटवलमा हुने

आईतवार, १७ आश्विन २०७८ १४:०२

असोज–१७, हेल्लो नेपाल।
नेकपा एमालेको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई सुझाव सहित पारित गरेको छ । आइतबार ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएपछि पारित गरेको हो ।

त्यस्तै विधान महाविधेशनले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले आयोगका संयोजकसहित सदस्यहरुको नाम प्रस्ताव गर्नुभएको थियो । राष्ट्रिय महाधिवेशन वुटवलमा हुने एमालले जनाएको छ ।

बैठकले केहि समसामायिक प्रस्ताव पनि पारित गरेको छ । बैठकले एमाले फुटाउनका लागि संविधानको अपव्याख्या गर्दै अध्यादेश ल्याएको भन्दै रोष प्रकट गरेको नेता रघुजी पन्तले जानकारी दिनुभयो । त्यस्तै बैठकले भ्रमवस पार्टी बिभाजनमा परेका कार्यकर्तालाई मुल पार्टीमा फर्कन पनि आह्वान गरेको छ । वर्तमान सरकारले भूमिसम्बन्धी आयोग खारेज गरेकोमा निन्दा गर्दै भूमिहिनको पक्षमा निरन्तर संघर्ष गर्ने निर्णय पनि गरेको छ । त्यस्तै स्रोत नखुलेको सम्पतीलाई बैधानिकता दिने गरि प्रतिष्थापन बिधेयकमार्फत ल्याइएको व्यवस्था सत्तास्वार्थ रहेको भन्दै गलत निर्णय सच्चाउन पनि माग गरेको नेता पन्तले बताउनुभयो ।

त्यस्तै एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ । एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ । त्यस्तै एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने एमालेले जनाएको छ । एमाले विधान महाविधेशन शुक्रबारदेखि सुरु भएको थियो । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।