कात्तिक ११ देखि १३ गतेसम्म प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता आयोजना हुने

कार्तिक ८, हेल्लो नेपाल ।
नेपाल बुदोकैदो फूलकन्ट्याक्ट संघले प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिता कात्तिक ११ देखि १३ गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने आयोजकले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । प्रतियोगितामा पुरुष तथा महिला खुल्लातर्फ प्रतिस्पर्धा हुनेछ । खुल्लातर्फ पुरुष तथा महिलातर्फको विजेताले एक–एक तोला सुनको मेडल प्राप्त गर्नेछन् । दोस्रो हुनेले पाँच– पाँच तोला चाँदीको मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा प्रत्येक तौल समूहमा प्रथम हुनेले पाँच हजार, दोस्रो हुनेले तीन हजार र तेस्रो हुनेले एक हजार पाँच सय नगर पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा सातवटै प्रदेशका महिला र पुरुष गरी २ सय ५० जनाको सहभागिता रहनेछ उपत्यका बाहिरका सबैको खाने, बस्ने र यातायात खर्च आयोजकले व्योहोर्ने संघको अध्यक्ष काजीमान श्रेष्ठले बताउनुभयो । प्रतियोगिताका लागि १९ लाख ५३ हजार खर्च हुने आयोजकले अनुमान गरेको छ ।