देवदहमा ४० औं मगर दिवस भव्यताका साथ सम्पन्न

फाल्गुन १५, हेल्लो नेपाल ।
नेपाल लुम्बिनी प्रदेशका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले मगर समुदायको हकहित र पहिचान स्थापित गर्न राज्यको मूल प्रबाहमा पुग्न कसरत गर्नुपर्ने बताउनु भएको छ ।
४० औं मगर दिवसको अवसरमा नेपाल मगर संघ देवदह नगर समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रि रानाले राजनीतिक, सामाजिक, साँस्कृतिक हिसाबले छुट्टै पहिचान र इतिहास बोकेको मगर समुदायकाे हकहित र पहिचान जोगाउन मगर समुदाय राज्यको मूल प्रवाहमा पुग्न कसरत गर्नु पर्ने बताउनु भएको हो ।
मन्त्री रानाले मगर समुदायको हकहित र देशको विकासका लागि आफ्नो पदको दुरुपयोग नगर्ने जिकिर गर्नुभयो । त्यस्तै कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्री,उपप्रमुख बिद्या लक्ष्मी गुरुङ,नेपाली काँग्रेसका नगर सभापति गुनाखर भुर्तेल,वडा अध्यक्ष पदम बहादुर थापा,यम राना,भिम बहादुर गुरुङ,मिना श्रेष्ठ,केशब बहादुर पुन,जस बहादुर पुन लगायतले बोल्दै मगर समुदाय छुट्टै पहिचान बोकेको समुदाय भएको र युवापुस्ताले भाषा संस्कृति भुल्दै गएकोमा चिन्ता व्यक्त गर्दै सबै मगरहरू एकताबद्ध भएर मगर समुदायको पहिचान जोगाउन लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मगर समुदायको संस्कृति झल्किने घाँट,कौडा नृत्य र मगर समुदायमा प्रचलित खानाका परिकार तथा बिभिन्न खेल समेत आयोजना गर्नुका साथै जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रम नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष शोभाकुमारी थापाको अध्यक्षता,उपाध्यक्ष खेम बहादुर थापाको स्वागत र सचिब मन बहादुर राना मगरको संचालन सम्पन्न भएको थियो।