शुक्रबार, १२ बैशाख २०८२ १९:४५

पासो लागि मान्छे मरेको डोरी महँगोमा बिक्री हुने विश्वासमा महिलाको हत्या गर्ने पक्राउ

आईतवार, २४ आश्विन २०७८ १२:४३

असोज–२४, हेल्लो नेपाल ।
पासो लागि मान्छे मरेको डोरी महँगोमा बिक्री हुने भन्ने अन्धविश्वासका कारण महिलाको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । तन्त्र साधना गर्नेलाई पासो लगाइएको डोरी महँगोमा बेच्न पाउने लोभमा उनीहरुले नुवाकोट घर भइ हाल ललितपुरको सुनाकोठी बस्ने ४५ वर्षीया कमला तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भदौ २५ गते बिहान प्रहरीले नुवाकोटको बेलकोटगढी नगरपालिका बस्ने कमलाको शव ललितपुरको सुनाकोठीमा भेटेको र घाँटी कसेर हत्या भएको देखिएपछि महानगरीय प्रहरी महाशाखा र प्रहरी बिट चापागाउँले घटनाको अनुसन्धान थालेको जनाएको छ ।

डोरीले कसेर हत्या गर्ने र त्यो डोरी महँगोमा बेच्ने योजनासहित तीन जनाले कमलाको ज्यान लिएको प्रहरीको दावी छ । प्रहरीले अभियुक्तहरु २३ वर्षीय सविन प्रजा, उनकी १८ वर्षीया श्रीमती सविना प्रजा माझी र २० वर्षीय सुमन मगरलाई पक्राउ गरि सार्वजनिक गरेको हो । भदौ २४ गते नै चिनजानमा रहेकी कमलाकहाँ पुगेको र राति कमलाको हत्या गरेको महाशाखाका डिएसपी निशान थापाले जानकारी दिनुभयो ।

हत्या गर्ने डोरीमा शक्ति हुने र ऐनामा नदेखिने कुरा अन्धविश्वासमात्र भएको थाहा पाएपछि उनीहरुले डोरी नजिकैको इनारमा फ्याँकेर फरार भएका थिए । त्यसपछि उनीहरुले मृतकका कानमा लगाएको गहना र मोवाईल लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यस्तै प्रहरीले ठूलो परिमाणमा भण्डारण गरिएको अवैध आतिसवाजी एवं पटाका सहित ललितपुरबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा गढिमाई घर भई हाल कुपण्डोल बस्ने बर्ष ३० का उमेश कुमार जैसवाल रहेका छन् ।