मूल्यवृद्धिको बिरोधमा बिप्लव नेतृत्वको पार्टीको काठमाडौंमा प्रदर्शन
भदौ–९,हेल्लो नेपाल ।
सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिरोध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको शान्तिबाटिकामा नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै बिरोध गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले मूल्यबृद्धि नियन्त्रण गर, बैज्ञानिक समाजवाद स्थापना गर, सरकार फेरिए जनजिविका फेरिएन लगायतका प्लेकार्ड प्रर्दशन गरेका थिए । प्रदर्शनपछि आयोजित कोणसभामा नेकपाका नेता माइला लामाले घाटामा रहेपनि निगमका कर्मचारीले बोनस खाने तयारी गरेको आरोप लगाउनुभयो ।
उहाले निगमलाई लगाइएको कर हटाएर पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि घटाउनुपर्ने जिकिर गर्नुभयो । निगमलाई भ्रष्टाचारको अखडा बनाएर नेपालका प्रशासक र मन्त्रीहरुले समेत निगमबाट कमिसन लिइरहेको उहाले आरोप लगाउनुभयो ।
सोमबार निगमले पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको थियो । यस्तै, खाना पकाउन प्रयोग हुने एलपी ग्यासको प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो । त्यस्तै नेकपाले दार्चुलामा जयसिंह धामीको मृत्युको घटनामा सरकार मौन रहेको भन्दै विरोध जनाएको छ ।