शुक्रबार, २८ चैत्र २०८१ २३:०३

सियारीमा विविध कार्यक्रम सहित ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

बुधबार, २५ फाल्गुन २०७८ ०१:४७

तुलसीराम पौडेल

सियारी, फाल्गुन २४

रुपन्देहीको सियारी गाउँपालिकामा सामाजिक न्याय र लैगिक समानता,दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ ११२औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

सियारी गाउँपालिका सामाजिक शाखा हर्नैयाको आयोजनामा ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाइएको हो। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिकाले ११२ जना श्रमिक महिलाहरूलाई सम्मान गरेको छ। त्यसै गरि सोही अवसरमा ९३ वर्षीय वृद्ध जेष्ठ नागरिक भिमादेवी शर्मालाई पनि सम्मान गरेको हो । कार्यक्रम उदघाट्न गर्दै सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले महिलाहरु राजनितिक नेतृत्वमा आउनुपर्ने बताउनुभयो ।उहाँले आफ्नो हक अधिकार प्राप्त गर्नको लागि महिलाहरु स्वयं जागरुक हुनुपर्नेमा जोड दिनुभयो । महिलाहरु आर्थिक ,सामाजिक बिकासमा अगाडि नभएसम्म राष्ट्रको विकास नहुने बताउनुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले महिलाहरु राजनीति क्षेत्रमा अगाडि आउनुपर्नेमा जोड दिँदै पुरुषबाट भन्दा महिलाले महिलालाई हिंसा गरेको तथ्यांक पाइएको र त्यसको मुल कारण आर्थिक समस्या भएको हुनाले महिला आय आर्जनको लागि सीप तथा उद्योगसँग जोडिनुपर्ने बताउनु भयो। नारी दिवसकै अवसरमा चम्चा दौड,कुर्सी दौड र सियो धागो लगायतका प्रतियोगिता सम्पन्न भएका थियो । चम्चा दौड प्रतियोगितामा सन्तु न्यौपाने प्रथम ,सुनिता थारु दोस्रो र अनुजा पौडेल ज्ञवाली तेस्रो हुनुभएको छ। यसै गरी कुर्सी दौड प्रतियोगितामा गोमा अर्याल प्रथम ,तारा कुमारी गुप्ता दोस्रो र तुलसा भण्डारी तेस्रो हुनु भएको छ।सियो धागो दौड प्रतियोगितामा सिर्जना थारू प्रथम ,बिष्णु कुमारी थारू दोस्रो र अनुजा ज्ञवाली तेस्रो हुनुभएको छ। कार्यक्रम सियारी ७ निवासी ९३ वर्षीय वृद्ध भिमादेवी शर्माको अध्यक्षता, गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता गुरुङ ,प्रमुख प्रशासकीय अधिकृत मिनप्रसाद भट्टराई ,लेखा अधिकृत नारायण प्रसाद पौडेल ,नेकपा एमाले सियारी गाउँ पालिका इन्चार्ज एवं जिल्ला कमिटी सदस्य खेमराज गुरुङ ,समाजसेवी राधिका भुसाल ,कमला भण्डारी ,कार्यपालिका सदस्य लक्ष्मी विक लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यपालिका सदस्य देवकी खरेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन लक्ष्मी खत्रीले गर्नुभएको थियो ।