कम्युनिस्ट पार्टीको पुनर्गठनका लागि (एकीकृत समाजवादी)को जन्म भयो-नेपाल
भदौ–१०,हेल्लो नेपाल ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले क्रान्तिकारी नेतालाई पार्टीबाट निस्काशन गरेपछि विद्रोहको विकल्प नभएको तर्क गर्नुभएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले केपी ओली जनताको जिम्मेवारीबाट भागिसकेको, पार्टी तहसनहस पार्न उद्धत भएको र क्रान्तिकारी नेतालाई पार्टीबाट निस्काशन गरेको भन्दै विद्रोहको विकल्प नभएको तर्क गर्नुभएको हो ।
नेपालले दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्ने कीर्तिमान कायम गरेको व्यक्तिमाथि विद्रोह गर्न आह्वान पनि गर्नुभयो । त्यस्तै उहाले कम्युनिस्ट पार्टीको पुनर्गठनका लागि नै नेकपा (एकीकृत समाजवादी) गठन गर्नुभएको बताउनुभयो । आफूसँगका नेताहरुले साथ छाडेको विषय उठाउँदै लामो यात्रामा जाँदा बिचमै कतिपय थाक्ने गरेको र क्रान्ति चाहनेहरु निरन्तर लागिरहने धारणा राख्नुभयो ।
नेपालले पुरानो बाटो नपछ्याउने भन्दै अहिले साथ छाडेका सहयोद्धाहरुलाई नकारात्मक टिप्पणी नगर्ने बताउनुभयो । नेपालले राष्ट्रिय कार्यकर्ता भेलाको भावना अनुसार नै नयाँ पार्टी बनाएको तर्क गर्नुभयो ।
अध्यक्ष नेपालले आगामी चुनावपछि ५ वर्ष सक्रिय राजनीति गर्ने योजना रहेको जिकिर गर्दै बुढो हुँदासम्म पदमा बसिरहने आफ्नो चाहना नभएको बताउनुभयो ।