शनिबार, ६ बैशाख २०८२ २३:१८

बुटवलको ज्योतिनगरमा पहिरो खस्दा दर्जनौ घर जोखिममा, आर्मी,प्रहरी,सशस्त्र प्रहरीद्धारा उद्धार कार्य जारी

आईतवार, १३ भाद्र २०७८ ०८:२३

भदौ–१३,हेल्लो नेपाल ।

अविरल बर्षाका कारण बुटवलको ज्योतिनगर क्षेत्र माथिबाट पहिरो खस्दा सिंगो वस्ती नै जोखिममा परेको छ ।

चुरे पहाड तल रहेको ज्योतिनगर क्षेत्रमा माथिबाट पहिरो खस्दा दर्जन बढी घरमा क्षति पुगेको हो । पहिरोले तीन वटा घर पुरेको छ भने अन्य घरहरुमा पनि बस्न नहुने गरी क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

गत शुक्रबार नै बस्ती माथिको वन क्षेत्रमा पहिरो गएपछि सतर्क अवस्थामा रहेकाले मानवीय क्षति भने हुन नपाएको बताइएको छ । स्थानीयवासीले पहिरोले क्षति पुर्याएका घरबाट सामान निकालेका छन् भने अन्य घरका वासिन्दाहरु पनि घर छाडेर अन्यत्र गईरहेका छन् । पहिरो पछि आफुहरुलाई खाने र बस्ने समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

पहिरोका कारण क्षति पुगेको बस्ती आर्मी,सशस्त्र प्रहरी,प्रहरी लगायतले उद्धार कार्य गरिरहेको छ ।
यसअघि २०५५ साल भदौ २० गते गएको पहिरोले ज्योतिनगर क्षेत्रमा ठूलो विपत्ति ल्याउनुका ५ दर्जन घरमा क्षति पुगेको थियो । उक्त ठाउँमा बस्ती बसाल्न जोखिम रहेको भन्दै पहिरोमा परेका ५७ घरपरिवारलाई सरकारले क्षतिपूर्ती दिएको थियो ।
२०५५ सालमा पहिरो गएको स्थानमा पुनः २३ वर्षपछि पहिरो खसेको हो ।