शिक्षक सरुवा समस्या समाधान लगायतका माग राख्दै सियारीमा चरणबद्ध संघर्षको सुरुवात

सियारी, माघ २५
रुपन्देही सियारी- २ श्री मैनहिया माध्यमिक विद्यालयमा शिक्षक सरुवा लगायतका विभिन्न समस्या समाधानका लागि विद्यालय व्यवस्थापन समिति तथा स्थानीय जनप्रतिनिधिहरूको नेतृत्वमा सियारी गाउँपालिकामा चरणबद्ध संघर्षको सुरुवात गरिएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सियारी गाउँपालिकाका पूर्वअध्यक्ष अयोध्या थारु, सियारी वडा नं. २ का अध्यक्ष जनार्दन यादव, जनप्रतिनिधि नारदमुनि थारु, शिक्षक अभिभावक संघका अध्यक्ष सञ्जय सुनार, व्यवस्थापन समिति सदस्य ईश्वरी यादव, शुशिला भर, पूर्व प्रधानाध्यापक निबर प्रसाद माली, समाजसेवी विजय यादव लगायतको उपस्थितिमा विद्यालयका समस्या समाधानका लागि गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु तथा प्रमुख प्रशासकीय अधिकृत समक्ष विद्यालयका मागहरू प्रस्तुत गरियो।

यसअघि पटक–पटक विद्यालय व्यवस्थापन समितिले शिक्षक सरुवालगायतका समस्या समाधानका लागि पहल गरे पनि ठोस समाधान नआएपछि बाध्य भएर शुक्रबार देखि अभिभावक तथा विद्यार्थीहरूको सहभागितामा गाउँपालिकामा संघर्षका कार्यक्रमहरू शुरू गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष अयोध्या थारुले जानकारी दिनुभयो।
विद्यालयमा आवश्यक शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार सुधार तथा अन्य शैक्षिक सुधारका लागि तत्काल कदम नचालिएसम्म संघर्षलाई निरन्तरता दिइने चेतावनी समेत आन्दोलनरत पक्षले दिएको छ।
विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा शुरू गरिएको संघर्षमा विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको पनि साथ रहेको छ। अबको रणनीति कसरी अघि बढाउने भन्ने विषयमा विद्यालय व्यवस्थापन समिति तथा स्थानीय तहका पदाधिकारीहरू बीच छलफल भइरहेको जनाइएको छ।