बिहीबार, १५ चैत्र २०८० २१:२१

एमाले क्षेत्र नं. ५ को चुनावी कमाण्डर खिमलाल भट्टराई

शुक्रबार, २८ आश्विन २०७९ १३:४६

लुम्बिनी, असोज २७ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. ५ मा नेकपा एमाले निर्वाचन परिचालन कमिटीको नेतृत्व पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले लिनुभएको छ ।

पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले पोलिटब्यूरो सदस्य भट्टराईको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । कमिटीको सदस्यमा पार्टीका केन्द्रीय, प्रदेश, जिल्ला तथा विभिन्न कमिटीमा रहेका नेताहरु रहेका छन् । अगुवा कार्यकर्ता भेलाले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि वडा तहसम्म निर्वाचन परिचालन कमिटी गठन गर्नुको साथैं नेता÷कार्यकर्ताहरुको जिम्मेवारी बाँडफाँट समेत गरेको छ ।

भेलाले पार्टीका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बासुदेव घिमिरे तथा प्रदेशसभाका उम्मेदवारद्धय भूमिश्वर ढकाल र रामचन्द्र यादवलाई जिताउन सिङ्गो पार्टीपंक्ति एकताबद्ध भएर जनतामाझ जाने निर्णय पनि गरेको छ । भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीका उम्मेदवारलाई जिताउन आ-आफ्नो ठाउँबाट सशक्त भूमिका निर्वाह गर्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै उम्मेदवारी चयनमा सन्दर्भमा देखापरेको समस्याको उचित समयमा समीक्षा हुने स्पष्ट पार्नुभयो । यस्तै पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले अब आफूले विगत नसम्झिने स्पष्ट पार्दै पार्टीका उम्मेदवारलाई जिताउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने र सोहीअनुसार चुनावी अभियानमा जुट्न अगुवा कार्यकर्तालाई आग्रह गर्नुभयो । पष्ट पार्नुभयो ।

पार्टी राजनीतिमा व्यक्ति प्रधान नहुने बताउँदै उहाँले लोकतन्त्रलाई अघि बढाउन एमालेको जीत आवश्यक रहेकोले निर्धक्क भएर जनताको घर घरमा जान अगुवा कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले विगतलाई बिर्सेर चुनावी अभियानमा जुट्नुको विकल्प नभएको बताउँदै पार्टीको निर्णयलाई शिरोधार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले विगतमा आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई मुलुककैं उत्कृष्ट नगरपालिका बनाएको स्मरण गर्दै विकासको धेरै सम्भावना बोकेको क्षेत्र नं. ५ लाई पनि उत्कृष्ट र विकासको नमूना बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य पदका उम्मेदवार रामचन्द्र यादव, भूमिलाल सापकोटा, पार्टीका जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सदस्य हेमा बस्याल, क्षेत्रीय संयोजक जीवनाथ पाण्डे, सहसंयोजक कृष्ण घिमिरे, सचिव भरतमणि सापकोटालगायतले बोल्नुभएको थियो ।