शनिबार, १४ असार २०८२ ०५:२७

लिटल फ्लावर्सका समर्थ फौदार जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा दोस्रो

शुक्रबार, २४ जेष्ठ २०८२ १५:५६


रुपन्देही, शुद्धोधन — नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सिद्धार्थनगर समितिद्वारा आयोजित प्रथम जिल्ला स्तरीय अन्तर-विद्यालय वक्तृत्वकला प्रतियोगितामा लिटल फ्लावर्स अङ्ग्रेजी माध्यमिक विद्यालयका विद्यार्थी समर्थ फौदारले द्वितीय स्थान हासिल गर्न सफल भएका छन्।

सिद्धार्थनगर स्थित नेपाल राष्ट्र बैंक परिसरमा सम्पन्न उक्त प्रतियोगितामा जिल्लाभरका विभिन्न विद्यालयहरूका प्रतिनिधिहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। शुद्धोधन गाउँपालिकाबाट सहभागिता जनाएका दुई विद्यार्थीमध्ये फौदारले प्रभावशाली प्रस्तुति दिंदै दोस्रो स्थान हात पार्न सफल भएका हुन्। फौदारको प्रस्तुति, आत्मविश्वास र विषयमा गहिरो ज्ञानको प्रशंसा निर्णायक मण्डल तथा दर्शकबाट व्यापक रूपमा भएको थियो। प्रतियोगिताको विषय समसामयिक सामाजिक तथा आर्थिक मुद्दामा आधारित थियो, जसमा सहभागीहरूले विभिन्न दृष्टिकोणबाट आफ्ना विचार प्रस्तुत गरेका थिए।

विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकहरूले फौदारको सफलतालाई विद्यालयको गर्वका रूपमा लिएका छन्। यस सफलताले विद्यार्थीमा भाषणकला र आत्मविश्वासको विकासमा क्याम्पसको योगदान देखाएको स्पष्ट हुन्छ।

लिटल फ्लावर्स अङ्ग्रेजी माध्यमिक विद्यालयका तर्फबाट प्रिन्सिपल दिल कुमारी फौदारले भन्नुभयो – “हाम्रो विद्यालय सधैं विद्यार्थीको प्रतिभा उजागर गर्ने प्लेटफर्मको रूपमा अगाडि बढिरहेको छ। समर्थको सफलता सम्पूर्ण विद्यालय समुदायको लागि प्रेरणा हो।”

नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सिद्धार्थनगर समितिले आयोजना गरेको यो प्रतियोगिता विद्यार्थीहरूमा वक्तृत्वकला, विचार अभिव्यक्ति क्षमता र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले गरिएको हो। समर्थ फौदारलाई विद्यालय, गाउँपालिका र स्थानीय समुदायबाट बधाई तथा आगामी सफलताका लागि शुभकामना व्यक्त गरिएको छ।

Gagal mengambil konten.