शुक्रबार, १६ चैत्र २०८० १५:१५

भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि नेपाल सरकारको सहभागितामा वार्ता समिति गठन गर्नुपर्ने-रावल

सोमबार, ३२ श्रावण २०७८ १२:१५

साउन-३१, हेल्लो नेपाल ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भूपू गोर्खा सैनिकको आन्दोलनका बिषयमा अब नेपाल सरकारको सक्रिय संलग्नतामा पहल गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको बिशेष समयमा उहाले १० दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुको माग सम्बोधनका लागि बेलायत सरकारले वार्ता टोली समेत नबनाउनु आपत्तिजनक भएको भन्दै अब नेपाल सरकारको सक्रिय संलग्नतामा पहल गर्नुपर्ने बताउनुभएको हो । आफ्ना देशका नागरिकहरुको हकहितमा जोडदार आवाज उठाउनुपर्नेमा आफ्ना न्यायोजित माग उठाउने भूतपूर्व गोर्खाहरुलाई हतोत्साहित गर्ने गतिविधि गर्नु खेदजनक भएको उहाको भनाई छ । रावलले भूतपूर्व गोर्खाहरुको समस्या समाधानका लागि नेपाल सरकारको सहभागितामा वार्ता समिति गठन गर्नुपर्ने र समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाले आमरण अनशनमा बस्दा उनीहरुको स्वास्थ्य अवस्था बिग्रिरहेकोले त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का गिरिराजमणि पोखरेलले अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भूमि आयोगलाई व्यवस्थित बनाइ भूमिहीन, सुकुम्बासीको समस्याको समाधान गर्नुपर्ने र त्यसका लागि विगतको सरकारले गठन गरेको आयोगले स्थानीय तहसँग मिलेर गरेको कामलाई मान्यता दिन आग्रह समेत गर्नुभयो ।

जसपाका सांसद प्रदिप यादवले प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनले आगामी निर्वाचनपछि पनि पाँच वर्ष सरकार चलाउने गरी जनताले म्यान्डेट दिने बताउनुभयो । संसदमा बहुमत सावित गरेर भएको प्रधानमन्त्रीलाई परमादेशको प्रधानमन्त्री भनेर हेप्ने काम भएको उहाले बताउनुभयो ।

एमालेका सांसद महेश बस्नेतले प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्ने र अध्यादेशबाट नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेको भन्दै त्यसको बिरोध गर्नुभयो । उहाले अहिलेको अदातल सेटिङमा चलेको समेत आरोप लगाउनुभयो ।

बैठकमा रेल्वे विधेयक, २०७६ र प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पति भएका उक्त दुई विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित टेबुल गर्नुभएको हो ।