बिहीबार, १५ चैत्र २०८० १६:३८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले लिए विश्वासको मत

सोमबार, ७ भाद्र २०७८ १३:१३

भदौ–७,हेल्लो नेपाल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले विश्वासको मत पाउनुभएको छ। लुम्बिनी प्रदेश सभामा सोमबार भएको मतदानमा केसीको पक्षमा ४२ मत परेको छ । विपक्षमा कसैले पनि मतदान गरेनन् भने एकजना सांसद तटस्थ रहेका थिए । लुम्बिनी प्रदेश सभा हाल ८० सदस्यीय रहेको छ । केसीको पक्षमा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए ।

मतदानमा सभामुखबाहेक ४३ सांसदको उपस्थिति थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने बैठक बहिष्कार गरेको छ । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तिले केसीको पक्षमा परेको ४२ मत प्रदेशसभाको बहुमत रहेकाले विश्वासको मत प्राप्त गरेको घोषणा गर्नुभयो । यसअघि विश्वासको मत माग्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको आवधिक योजना व्यवहारमा देखिने गरी कार्यान्वयन गर्ने बताउनुभएको थियो । त्यस्तै समृद्ध प्रदेश खुशी जनताको नारा जनताले अनुभूति गर्ने गरी काम गर्ने उहाले बताउनुभयो । उहाले कोरोना नियन्त्रण गरि जनताको जिवन रक्षाको प्रस्थानबिन्दु बनाएको बताउनुभयो ।

एमाले संसदीय दलका नेता शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा परेर राजीनामा दिएसँगै केसीको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो । मुख्यमन्त्री केसीले नेकपा माओवादी, नेपाली काँग्रेस, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा सरकारको नेतृत्व गर्नुभएको हो ।