मंगलवार, ९ कार्तिक २०७८ ०२:३५

हाँस्य कलाकारहरुले गरे नेता देखी कर्मचारीसम्मलाई व्यङ्ग्य

सोमबार, ७ भाद्र २०७८ १३:४५

भदौ–७,हेल्लो नेपाल ।
गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्याति प्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटारो हानेका छन् । रिपोर्टर्स क्लब नेपालमा सोमबार आयोजित गाइजात्रा विशेष साक्षात्कारमा उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका छन् ।

हास्यकलाकारहरुले नेताका व्यवहार, शैली र प्रवृतिलाई आफ्नो व्यङग्यका निसाना बनाएका छन । कलाकारहरुले देशमा भएका भ्रष्टाचार, बलात्कार, ठगी र सामाजिक संजालमाथिका विसंगतीहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङग्य प्रस्तुत गरे । सरकारको नेतृत्व गरिरहेका नेताहरु लक्षित गरेर गाइजात्रा विशेष व्यङग्य प्रस्तुत गरेका थिए ।

वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिम्खडाले आफुले २०३७ सालदेखि गाईजात्रामा सहभागी भैरहेको स्मरण गराउनुभयो । उहाले देशको ३ जनाको मिलेमतोमा संविधान ल्याएको र बाँडीचुँडी देश खाएको भन्दै तिखो व्यङग्य प्रस्तुत गर्नुभयो ।

हाँस्यकलाकार किरण केसीले आफ्नै साथी स्वर्गीय रामशरण नेपालीलाई सम्झेर ‘सेती खोला चाइनोजो…’ गीत प्रस्तुत गर्नुभएको थियो । हाँस्यकलाकार दमन रुपाखेतीले जति गाली गरेपनि नेताहरु कहिल्यै नसुध्रिने बताउनुभयो ।

यसैगरी, साक्षात्कार कार्यक्रममा हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर)ले सबै नेपालीहरु एकिकृत हुनुपर्छ भन्दै कविता वाचन गर्नुभएको थियो ।

गाइजात्रा बिशेषमा हाँस्य कलाकार राजाराजेन्द्र पोखरेलले पछिल्लो समयको राजनितिक घट्नाक्रमको बारेमा व्यंग्य गर्नुभयो ।