शुक्रबार, १६ चैत्र २०८० १०:४६

अध्यादेशबाट ल्याईएको बजेट समीक्षा हुन्छ : मन्त्री खड्का

मंगलवार, ८ भाद्र २०७८ ०९:४३

बुटवल, ८ भदौं । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको बताएका छन् । मन्त्री खड्काले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वले अध्यादेशबाट ल्याएको बजेटलाई पुर्नस्थापन गरेर नयाँ बजेट बनाउन आफूहरु लागि परेको बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै लुम्बिनी सरकारका प्रवक्ता तथा मन्त्री खड्काले आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रणमा रहेको बताए । उनले भने, ‘मुलुक यतिबेला कोरोनाले थलिएको छ, तेस्रो लहरले थप क्षति नपुर्याओस् भन्ने उद्देश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं । हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो ।’

मन्त्री खड्काले १८ वर्षभन्दा मुनिकालाई खोप लगाएर विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको दाबी गरे । कोरोना महामारीले बेरोजगार बस्न बाध्य भएका नागरिकहरुको लागि रोजगारीका अवसरहरु सिर्जना गर्ने विश्वास व्यक्त गरे । थला परेका व्यवसायीहरुलाई राहत प्रदान गरेर अगाडी बढ्न प्रेरित गर्ने उनको भनाई छ ।

उनले सहकार्य, सहमतिबाट बजेट ल्याऊँ भन्दाभन्दै पनि निवर्तमान सरकारले बलजफत गरी अध्यादेश ल्याएको बताउँदै अध्यादेशबाट आएका र अलपत्र छाडिएका २ वटा विधेयकहरु फिर्ता ल्याएको बताए । अघिल्लो सरकारले संघियता कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै आफूहरुले आवश्यक नीति नियमहरु बनाएर अगाडी बढ्ने उनको भनाई थियो । उनले संघीय सरकारका आयोजनाहरुलाई निरन्तरता दिँदै कामलाई चुस्त, दुरुस्त, पारदर्शिता र सुशासनमा जोड दिने बताए ।

साक्षात्कार कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा पूर्व प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपालले सरकारले पूँजीँगत खर्चमा जोड दिनुपर्ने बताए । उनले कोरोना महामारीले निम्न वर्गका नागरिकहरु समस्यामा परेको बताउँदै राहतका प्याकेजहरु तत्काल ल्याउनु पर्नेमा जोड दिए ।

नेपालले कोरोना खोपलाई प्राथमिकता दिनुपर्ने बताउँदै जनताको जीवन उत्थानको लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । मुलुकको अर्थतन्त्र अगाडि बढाउन तिनाउ डाइभर्सन राम्रो विकल्प रहेको बताए । उनले लुम्बिनीको विकासको लागि भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङ मार्गको कामलाई छिटोभन्दा छिटो अगाडि बढाउन सुझाव दिए । बुटवल पाल्पा सडक अन्तर्गत सिद्धबाबा क्षेत्रमा वर्षेनी कम्तीमा ५/७ जनाको ज्यान लिएको अवगत हुँदाहुँदै पनि राजनीतिक नेतृत्व तहले गम्भीर रुपमा चासो नदिएको दुखेसो पोखे ।

उनले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र बलियो बनाउने बताउँदै आर्थिक पुनरुत्थानलाई सहयोग पुर्याउने बताए । मौद्रिक नीतिले अर्थव्यवस्थामा मौद्रिक व्यवस्थापन, ब्याजदर व्यवस्थापन, वित्तीय क्षेत्र सुदृढीकरण, भुक्तानी प्रणालीमा सुदृढीकरण, विदेशी विनिमय व्यवस्थापन, वित्तीय पहुँच जस्ता उपायमार्फत नियमन र सन्तुलन कायम गरी समष्टिगत आर्थिक उद्देश्य प्राप्ति गर्न सघाउ पुर्याउने बताए ।

डा.नेपालले सरकार परिवर्तन भइरहने र नयाँ सरकारसँगै नयाँ बजेट आउने खालको क्रियाकलापले योजनाहरु रोकिने, समयमै पुरा नहुने बताए । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल,लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।