शुक्रबार, १६ चैत्र २०८० ११:३५

पहिरोमा परी घाइते भएकी बालिकालाई सांसद मल्लको सहयोग

सोमबार, ७ असार २०७८ १८:०४

असार ७, स्याङ्जा

केही दिन अगाडि देशभर परेको अविरल वर्षाले थुप्रै ठाउँहरुमा मानवीय र भौतिक क्षति गर्‍यो । देशभर कयौं मानिसहरुको मृत्यु भयो भने कयौं घाइते भए । कयौं थातथलो छाडेर विस्थापित भए । अहिले बाढी र पहिरो रोकिए पनि तिनका असर र प्रभावहरु भने अझै मेटिएका छैनन् । स्याङ्जा जिल्लामा अविरल वर्षासहितको बाढी र पहिरोले विभिन्न ठाउँमा क्षति गरेको छ ।यसै क्रममा भीरकोट नगरपालिका वडा नं ९ ठुली भन्ज्याङ निवासी दीपक बि.क.की छोरी प्रतीक्षा बिक सधैँ झै पानी लिएर घर फर्कने क्रममा घर पछाडि रुखसहितको पहिरोमा परी घाइते भइन् । अविरल वर्षाका कारण गएको पहिरोमा परी उनको मेरुदण्डको हाड भाँचियो । उनी हलचल गर्न नसक्ने अवस्थामा पुगिन् । पहिरोमा परेर धन्न उनी बाँचिन् ।

घाइते प्रतीक्षालाई उपचारको जरुरुत भयो । उपचारका लागि उनलाई पोखरा लगियो ।सामान्य परिवारकी प्रतीक्षालाई उपचारको लागि हाल पश्चिमाञ्चल अस्पताल पोखरामा राखिएको छ । उनको उपचार भइरहेको छ ।यसै क्रममा आज प्रतीक्षाको उपचारमा राहत पुगोस् भन्ने हेतुले गण्डकी प्रदेश सभा सदस्य भागवत् प्रकाश मल्लले नगद रु. ९०००। सहयोग गर्नुभएको छ । सांसद मल्लले भीरकोट ९ का सूर्योदय युवा क्लबका अध्यक्ष लिविन गुरुङ र सोही वडाका बालमैत्री संयोजक रमेश गुरुङलाई सो रकम हस्तान्तरण गर्नुभएको विद्यार्थी नेता सुनिल चापागाईंले जानकारी दिनुभएको छ । सांसद मल्लले विपद्मा परेका नागरिकहरुलाई विगतदेखि नै सहयोग गर्दै आउनुभएको छ ।