बिहीबार, १५ चैत्र २०८० २०:०७

सवै नागरिकलाई खोप दिन्छौ -शेर बहादुर देउवा

शुक्रबार, ८ श्रावण २०७८ १४:२१

साउन–८ । प्रधानमन्त्री शेरबहादुर देउवाले जति महँगो भए पनि ऋण वा सापट लिएर सबैलाई खोप उपलब्ध गराइने बताउनुभएको छ । प्रतिनिधिसभामा दलका नेताबाट बधाई तथा शुभकामना दिने क्रममा उठाइएका जिज्ञासाका जवाफ दिँदै प्रधानमन्त्री देउवाले सरकार गठनका सन्दर्भमा गरेका वाचा पूरा गरेरै छाडिने भन्दै सवै नागरिकलाई खोप उपलव्ध गराउने बताउनुभएको हो ।

उहाँले समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्ने विश्वास दिलाउँदै सबै राजनीतिक दलको साथ र सहयोगबाट मुलुकको हितमा देखिने गरी काम गरिने स्पष्ट पार्नुभयो । राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको भए त्यसबेला नै संसद्मा विश्वासको मत लिन सकिने भएपनि त्यस्तो हुन नसकेको उहाले बताउनुभयो । उहाले विश्वासको मत लिने सन्दर्भमा उपस्थितिका लागि सामान्य अनुरोध मात्र गरिएको र ह्विप नलगाइएको स्पष्ट पार्नुभयो ।

प्रतिनिसभा बैठकमा ‘महालेखा परीक्षको ५७ औँ वार्षिक प्रतिवेदन २०७७’ सभा समक्ष पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सदन समक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८’ पनि सदनमा पेश गर्नुभयो ।

प्रतिनिधिसभाको अर्काे बैठक यही साउन १२ गते मङ्गलबार १ बजे बोलाइएको छ ।